धनगढी : नागरिक उन्मुक्ति पार्टीभित्रको किचलो सतहमा आएको छ। पार्टीका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठ (चौधरी) बिचको विवादले पार्टी अर्निणयको बन्दी बनेको हो। रेशमला र रञ्जीता पतिपत्नीसमेत हुन्।
उनीहरुको आपसी विवादले सुदूरपश्चिम सरकार विस्तार भएपछि अन्यौलता बढेको छ। सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ जना प्रदेशसभा सदस्य छन्। यहाँ सरकार बनाउनका लागि उन्मुक्ति निर्णायक शक्ति पनि हो।
तर, केन्द्रमा एमालेसहितको गठबन्धन सरकारमा नाउपा प्रतिपक्षमा बसेर सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा रेशम छन् भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रञ्जीता छिन्। स्रोतका अनुसार उनले सुदूरपश्चिममा पनि तत्कालीन गठबन्धन भत्किनुपर्नेमा जोड दिएकी छन्।
यसैबीच शुक्रबार राति रेशमको सहमतिमा मुख्यमन्त्री शाहले नाउपाका थप तीन जना सासंदलाई मन्त्री नियुक्त गरे। उनीहरुले राति नै सपथ ग्रहण गरेर कार्यभार सम्हालेका छन्।
उता, नाउपा अध्यक्ष रञ्जीताले भने शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन्। उनले पार्टीको निर्णयविपरीत उनीहरु मन्त्री भएको बताएकी छन्।
उनले आफू (पार्टी अध्यक्ष) सँग कुनै सल्लाह नै नगरि शुक्रबार मध्य सरकारमा किन गएको ? भन्दै सुदूरपश्चिममा नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीलाई हप्काएर आजै सरकार छोड्न निर्देशन दिएकी हुन्। जबकी घनश्याम पनि हिजै अर्थमन्त्री भएर सपथ लिनेमा पर्छन्।
नाउपाका ७ जना प्रदेश सभा सदस्यमध्ये शुक्रबारको सरकार विस्तारपछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन्। शुक्रबार मुख्यमन्त्री शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जीताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उन्मुक्तिका रामेश्वर चौधरीसहित अहिले ४ जना सरकारमा छन्।
के हो विवाद ?
रेशम र रञ्जीता पतिपत्नी हुन्। रेशमका दुुई पत्नीमध्ये रञ्जीता जेठी पत्नी हुन्। ९ जनाको ज्यान जाने गरि भएको टीकापुर घटनापछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको थियो।
जेलमा भएकाले अध्यक्ष बस्न नपाउने भएपछि त्यतीबेला रेशमले श्रीमती रञ्जीतालाई पार्टीको अध्यक्ष बनाएर आफू संरक्षक बसे। तर पछि, उनलाई राष्ट्रपती रामचन्द्र पौडेलले गणतन्त्र दिवशका अवसरमा माफी मिनाहा दिए र रेशम जेलमुक्त भए। त्यसपछि उनले २०८० सालको पुस २६ गते टीकापुरमा पार्टीको भब्य महाधिवेशन गरे।
प्रधानमन्त्री पुुष्पकमल दाहाललाई प्रमुख अथिति बनाउने गरि आयोजना गरिएको महाधिवेशनमा दाहाल कार्यब्यस्तता भन्दै आएनन् भने रेशमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ठ अथिति बनाए।
महाधिवेशनको निर्वाचन प्रकृयामा रेशमले अध्यक्षमा एकल उमेदवारी हाल्ने भनेपछि रञ्जीता त्यहीँ दिन महाधिवेशन छोडेर गएको कुराले चर्चा पाएको थियो। रेशम निर्विरोध अध्यक्ष भए पनि रञ्जीता रिसाएर महाधिवेशन छोडेर गएको चर्चापछि उनले रञ्जीतालाई सह-अध्यक्ष मनोनित गरे। तर निर्वाचन आयोगले बिहीबार रेशमको अध्यक्ष पद र महाधिवेशन नै अवैध भन्दै रञ्जीता श्रेष्ठ चौधरीकै अध्यक्षताको पुरानो कार्यसमितिलाई नै मान्यता दिएको छ। त्यसपछि रेशम अहिले पार्टीको अध्यक्षबाट संरक्षकको भूमिकामै पुगेका छन्।
रेशम बिहीबार बेलुकी नै धनगढी पुुगेका थिए। बिहीबार बेलुकी ६ बजे रुबस होटलमा उनले पत्रकार सम्मेलन राखेका थिए तर लगत्तै निर्वाचन आयोगले उनलाई अध्यक्षको मान्यता नदिएको निर्णय आएपछि उनले पत्रकार सम्मेलन नै स्थगित गराएका थिए।
शुक्रबार रेशम चौधरीले मुख्यमन्त्री शाहलाई भेटेर समर्थन यथावत राख्ने र राप्रपाको समर्थन माग्न सुुझाएका थिए। रेशमले, आफ्नो पार्टीका तीन जनालाई मन्त्री बनाई हाले उनीहरु पनि यताउता नहुने भन्दै मुख्यमन्त्री शाहलाई शुक्रबार नै सपथ दिलाउन आग्रह गरेका थिए।
मुख्यमन्त्री शाहसँग काँग्रेसका १८, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जनाको समर्थन कायमै रहेको छ। राप्रपाले समर्थन गरे मुख्यमन्त्री शाहलाई बहुमत पुग्छ।
माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्।
नयाँ सत्ता गठबन्धनसँग अहिले माओवादीका ११, एमालेका १० र समाजवादीका ४ गरी २५ जना छन्।