धनगढी: नागरिक उन्मुक्ति पार्टीले आकस्मिक बैठक बोलाएको छ। पर्सिका लागि पार्टीले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको हो।
महत्त्वपूर्ण छलफल गर्ने भन्दै २८ गतेको लागि बैठक आह्वान गरिएको स्रोतले जनाएको छ। निर्वाचन आयोगले अध्यक्षमा रेशमलाल चौधरीलाई वैधानिकता नदिएपछि पहिलोपटक संस्थापक केन्द्रीय सदस्यको बैठक
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले आह्वान गरेकी हुन्।
सुदूरपश्चिम सरकारमा नाउपाले थप मन्त्री पठाएसँगै पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ। पति-पत्नीसमेत रहेका रेशम र रन्जिताको पनि पछिल्लो समय दुरी बढेको बताइन्छ। हिजो काङ्ग्रेस नेतृत्वको सरकारमा नाउपाका तीन जनाले शपथ गरेका थिए। त्यसपछि रेशम र रन्जिताको खटपट छताछुल्ल भएको हो।
पार्टी केन्द्रीय नीतिविपरीत उनीहरू सरकारमा गएको भन्दै पार्टी अध्यक्ष श्रेष्ठले फिर्ता हुन निर्देशनसमेत दिइसकेकी छन्। तर प्रदेशमा अहिलेसम्म मन्त्री फिर्ता हुने वा समर्थन फिर्ता लिने बारे कुनै निर्णय भएको छैन।
यस्तो अवस्थामा आयोजना गरिएको संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।