धनगढी: सुदूरपश्चिमको कञ्चनपुरस्थित दोधाराचाँदनी हुँदै भारतको दिल्लीतिर चिनियाँ लाइटरको तस्करी हुने गरेको पाइएको छ। भारत सरकारले प्रतिबन्ध लगाएको चिनियाँ लाइटर नेपालबाट तस्करी हुने गरेको पाइएको हो।
चीनबाट आयात हुने लाइटर सुदूरपश्चिमसहित नेपालका विभिन्न नाकाको चोरबाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ। सुदूरपश्चिमको हकमा भने चीनबाट आयातित लाइटर महेन्द्रनगरलाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो।
नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिअनुसार एक देशबाट आयातित सामान सोझै अर्को देश निर्यात गर्न मिल्दैन। तर, केही तस्कर र व्यवसायीहरूले भने चीनबाट आयात गरेको लाइटर सुदूरपश्चिम हुँदै सुरक्षाकर्मीकै सेटिङमा भारत पठाइरहेको खुलेको छ।
भारत सरकारले गत जुन २९ (असार १४) मा ‘प्लास्टिकबाट निर्मित अनि पुनः प्रयोग गर्न सकिने लाइटरले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको’ भन्दै प्रतिबन्ध लगाएको थियो। सोही प्रतिबन्धित चिनियाँ लाइटर वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार नाकाबाट सुदूरपश्चिमको महेन्द्रनगर हुँदै दोधाराचाँदनीको नाकाबाट दिल्ली पास हुने गर्दछ।
प्रहरीको गोप्य स्रोतका अनुसार महेन्द्रनगर कञ्चनपुरका व्यापारी रुपकिशोर गुप्ता र उनका छोरा अक्ष गुप्ताले लामो समयदेखि लाइटरको व्यापार तथा तस्करी गराउँदै आएका छन्। उनीहरुले दोधाराचाँदनीका रिङ्कु रोकाया र जयबहादुर खड्कामार्फत लाइटर तस्करी गराउने गर्दछन्।
जयबहादुरले रोकायालाई आफ्नो दाई भन्दै आफूहरुले लाइटर निर्यात गर्ने गरेको महेन्द्रनगरपोष्टसँग स्वीकारे। तर हालसालै भने सो काम नगरेको यो काममा धेरै व्यापारी रहेको उनले बताए।
सुरक्षा स्रोतकाअनुसार सोमबार साँझ कैलाली र बर्दिया जोड्ने कर्णाली पुलमाथि गुड्दागुड्दै आगलागी भएर सामानसहित भस्म भएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा पनि उनीहरुकै तस्करीको लाइटर आइरहेको बताइएको छ।
रिङ्कु र जयबहादुरलाई सप्लाई गर्ने महेन्द्रनगरस्थित शिवओम इन्टरप्राइजेजका मालिक गुप्ताले सो लाइटर विरगञ्जबाट महेन्द्रनगरतर्फ ल्याउँदै थिए। गुप्ताको महेन्द्रनगरस्थित गल्ली नम्बर ३ र १ मा सो इन्टरप्राइजेज रहेको बताइन्छ।
महेन्द्रनगरतर्फ आउने क्रममा आगलागीबाट जलेको उक्त ट्रक सिद्धार्थ बैंकको नाममा रहेको र ट्रकको साँहु धनगढी घर भएका जयप्रकाश चौधरी रहेको खुलेको छ। उक्त ट्रकका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का ३६ वर्षीय जगन्नाथ जोशी थिए भने सहचालक दार्चुला शैल्यशिखर–८ का २४ वर्षीय धिरज जोशी थिए।
पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको १ हजार १ सय लाइटर कञ्चनपुरमा व्यापार गर्ने भारतीय मूलका गुप्ताको शिवओम इन्टरप्राइजेजले मगाएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ट्रकमा एक करोड दुई लाख बढीका चाइनिज लाइटर थिए। बर्दिया प्रहरीका प्रहरी निरीक्षक कमल चौधरीले सो लाइटर बोकेको ट्रकबारे अहिले अनुसन्धान भैरहेको जानकारी दिए। उनका अनुसार ट्रक चालकसहित अन्य बिल र सामानको विवरणमा पनि छानबिन भैरहेको छ।
यस्तै ट्रकसहित पुलमा समेत क्षति भएको घटनाको विस्तृत अनुसन्धान गरिने प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रमुख डीआइजी कुबेर कडायतले महेन्द्रनगरपोष्टलाई बताए।
तर, सुदूरपश्चिममा प्रहरीले चीनबाट आयातित लाइटर चोर बाटोबाट भारतमा जाने गरेको विषयमा भने अनुसन्धान थालेको देखिदैन। कर्णाली पुलमा जलेको ट्रकमा भएको करोड बढीको लाइटर वीरगन्जस्थित सुख्खा बन्दरगाह हुँदै आएर महेन्द्रनगरबाट दिल्ली जानेवाला थियो। सो विषयमा सुदूरपश्चिम प्रहरीले अनुसन्धान थाल्न जरुरी देखिन्छ।
अहिले ट्रकसहित कर्णाली पुलमै आगलागी भएको घटनामा सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक टोलीले क्षतिबारे प्रारम्भिक अध्ययन थालेको बताइएको छ। टोलीले आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको भन्दै मर्मत सम्भार गर्नुपर्ने जनाएको हो।
हाललाई आगलागीपछि आवागमन बन्द गरिएको उक्त कर्णाली पुल सन् १९९३ मा निर्माण गरिएको थियो। उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए।