पुनर्वास : कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने मेसिन सहयोग गरेको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराइएको हो ।
झण्डै एक लाख ५८ हजार बराबरको एक थान ब्रेथलाईजर मेसिन खरिद गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतको उपस्थितिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीलाई हस्तान्तरण गरिएको छ ।
मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गरेर दुर्घटना न्यूनिकरण हुने अपेक्षाका साथ सहयोग गरिएको बताए ।
मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर पुनर्वास नगरपालिकाले सहयोग गरेकोभन्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बस्नेतले धन्यवाद व्यक्त गरे ।
उक्त हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिका-१ का वडाध्यक्ष मोहनलाल राना,वडा नं. ७ का वडाध्यक्ष मुलचन्द राना, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर ,बिनि शिवराज भट्ट, योजना अधिकृत शंकर बोगटी, ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्ट, अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीका ईन्चार्ज जीवन सिंह भण्डारी , लगायत ब्यवसायी दाउत तामाङ र खगेन्द्र ओझाको समेत उपस्थिति रहेको थियो।