काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली पठाइएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो। यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको छ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको हो।
आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ।
यस्तै अहिले जिम्मेवारी पाउने ज्ञवाली पनि विवादित एआइजी नै हुन्। जबकी उनलाई पनी सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले आईजिपी बन्न एक करोड मागेको आरोप लगाएका छन्। यतिमात्र होइन, ज्ञवाली केही समय अगाडि शैक्षिक प्रमाणपत्र र नागरिकताबारे विवादमा तानिएका थिए।
उनीमाथि शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरेको थियो।
गत चैत १० मा वसन्त कुँवर आईजीपी नियुक्त हुँदा ज्ञवाली पनि दौडमा थिए। तर, विवादित भएपछि उनी स्वतः पछि परेका थिए। पछि गएर सो मुद्दामा उनले सफाई पाएका थिए। उनी पहिला एसपी हुँदा पनि सिआइबीमा बसेको बताइन्छ।