धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रविन्द्र केसीले प्रहरी र प्रहरीका कार्यालयमाथि निगरानी बढाएका छन्। केही दिनदेखि डीआइजी केसीले अनुगमन तथा निगरानी बढाएका हुन्। उनले एक साता अगाडिबाट विभिन्न मातहत कार्यालयको अनुगमन थालेकोमा निरन्तर अनुगमन गरिरहेको जनाएका छन्।
सोही क्रममा उनले आज (शुक्रवार) नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरेका छन्। अनुगमनका क्रममा उनले गणको कार्यालय भवन, विभिन्न शाखाहरु, ब्यारेक, मेससमेतको निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएको बताइएको छ।
प्रहरी कर्मचारीहरुले बोलीब्यवहारमा सुधार गर्नुपर्ने, गलत प्रवृती भएका मानिसहरुसंग साँठगाँठ नगर्ने, ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्ने, प्रहरी आचरणविपरीतका कार्य नगर्ने, कुनै पिरमर्का गुनासाहरु भए नेपाल प्रहरी संगठनले तोके बमोजिमको विधि र प्रक्रियाअनुरुप अघि बढाउने, आर्थिक प्रलोभनमा नपर्ने, गोपनियता कायम राख्ने, सामाजिक सञ्जालको दुरुपयोग नगर्ने, मानव अधिकारको संरक्षण गर्दै कार्यसम्पादन गर्ने लगाएका विषयमा निर्देशन दिएका हुन्। यस्तै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्नाजस्ता गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा खटिदा बल प्रयोगका सिद्धान्तलाई पालना गर्नुपर्नेमा जोड दिन निर्देशन दिइएको छ।
सो कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी लगायत नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु समेतको उपस्थिती रहेको थियो।
डीआइजी केसीले केही दिन अगाडि ट्राफिक, कञ्चनपुर प्रहरीको समेत अनुगमन गरेका थिए भने आइतबार कैलालीमा अनुगमनको कार्यक्रम रहेको बुझिएको छ।