धनगढी : धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पुर्णखोप अभियानमा सामाजिक तथा व्यवहार परिवर्तन सञ्चारको आवश्यकता महसुश भएको बताएका छन् । शनिबार धनगढीमा सम्पन्न तीन दिने व्यवहार परिर्वतन तालिममा सहभागिहरुले सो कुरा बताएका हुन ।
सहभागीहरुले सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने गरि राज्यले राखेको लक्ष्यलाई पुरा गर्न मानव केन्द्रित डिजाईन पद्धतीलाई व्यवहारमा लागु गर्ने बताएका छन् । उनिहरुले धनगढी प्रदेशको राजधानि तथा ठुलो जनसंख्या बसाइसराई भइरहने समस्याको कारण पुर्ण खोपमा चुनौती रहेको समेत बताए ।
खोप कार्यकर्ताहरुको लागि युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजना गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिका उप प्रमुख कन्दकला रानाले धनगढीले स्वास्थ्य सेवालाई महाअभियानको रुपमा अगाडी बढाएको बताइन् । उनले सबै वडामा बिशेषज्ञ डाक्टर सहितको वडा स्वास्थ्य क्लिनिक, क्यान्सर शिविर तथा अन्य विभिन्न सेवाहरु जनताको घरदैलोमै पुगेर प्रदान गरिरहेको बताइन् ।
यस्तै धनगढीलाई पुर्णखोपको अभियानमा अगाडी बढाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालनको र कार्यक्रमको लागि आवश्यकता अनुसारको बजेट समेत व्यवस्था गरिएको बताइन् ।
यस्तै नगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले धनगढीले दादुरा रुबेला खोप अभियानमा ६० हजारबढी बालबालिकाहरुलाई खोप लगाइसकेको बताए । उनले स्वास्थ्यकर्मीहरुको ठुलो मेहनतले प्रदेशमै सबैभन्दा बढी बालबालिकाहरुलाई धनगढीले खोप उपलब्ध गराएको बताए ।
बिहिबार देखी सुरु भएको तालिम शनिबार सम्पन्न भएको छ ।
तालिमअवधिमा युनिसेफ नेपालका प्रकाश आचार्य, अशोक जोशी र प्रशिक्षक वीर बहादुर कुँवरले सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा सहजिकरण गरेका थिए । तालिममा नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।