धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको स्थलगत निरीक्षण गरेका छन्।
उनले प्रहरी कार्यालय भवन, शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका हुन्। सो अवसरमा डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका युनिटलाई आवश्यक निर्देशन समेत दिएका छन्। डीआइजी केसीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभाव नराख्न निर्देशन दिएका छन्। उनले कुनै पनि गैर–व्यावसायिक क्रियाकलापमा संलग्न नहुन र यदि कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइएमा क्षमा नहुने समेत चेतावनी दिएका छन्।
साथै फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकता दिएर प्रभावकारी ढंगले अघि बढ्न जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटलाई निर्देशन दिएका छन्। समावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाउन र उपलब्धिमुल ढंगले कार्य गर्न समेत सचेत गराएका छन्।
अबैंध काठ नियन्त्रण, नियमविपरीत नदीजन्य पदार्थको उत्खनन्, गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन डीआइजी केसीले निर्देशन दिएका छन्। उनले लागूऔषध नियन्त्रण कार्यलाई महा–अभियानको रुपमा सञ्चालन गर्ने, प्रहरी आचरण विपरीतका कार्य नगर्ने, नेपाल प्रहरीको मिडिया नीति विपरीत हुने गरि सामाजिक सञ्जाल प्रयोग नगर्ने, नागरिकको मानव अधिकारको सम्मान गर्ने, नागरिकमैत्री व्यवहार गर्ने, हिरासतमा रहेका थुनुवा ओसारपसारमा तथा अन्य कानुनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्ने बताए।
साथै गैर–व्यावसायिक आर्थिक लाभको लागि कसैसँग साँठगाँठ र मिलोपतो नगर्ने, कुनै प्रहरी कर्मचारीहरुले गरेको पाइएमा कानूनी दायरामा ल्याइने, व्यक्तिगत पिरमार्का गुनासाहरु निर्धारण गरे बमोजिमको विधि र प्रक्रिया अनुरुप अघि बढाउने, समन्वयात्मक, सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ कार्य गर्नुपर्ने समेत उनले बताए।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्ट लगायत जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायमा कार्यरत प्रहरीहरु सहभागि थिए।