धनगढी: नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन्।
कैलालीको गोदावरीमा शनिबार सम्पन्न महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन भएको हो।
महासंघको प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन्।
त्यस्तै, सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सहकोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन्।
प्रदेश अधिवेशनको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए।
अध्यक्ष बनेका सन्तोष उनै मान्छे हुन्, जो गत वर्षको साउन १८, बुधबार मुम्बई जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउसमेत परेका थिए। त्यसबेला पनि नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति रहेका उनी पत्नीसहित पक्राउ परेका थिए।
सन्तोषको नाम भारतको पञ्जाबमा भएको एउटा सुन चोरीको घटनामा जोडिएपछि उनी समातिएर थुनामा बसेका थिए।
त्यस अगाडि ठगी आरोप पनि लागेका उनको धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ। उनै सन्तोष करोडभन्दा बढी मूल्यको भारतीय सुन चोरीको प्रकरणमा १० हजार धरौटी तिरेर छुटेका थिए।
त्यसबेला कैलाली प्रहरीले सन्तोषसहित अन्य ६ जनालाई पक्राउ गरेको थियो। सो समयमा उनीहरूबाट कैलाली प्रहरीले ४६ लाख २८ हजार ४१८ रुपैयाँ नगद र गरगहना बरामद गरेको थियो।