धनगढी : धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा एक युवकले विषादी सेवन गरेका छन् ।
मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।
नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए ।
उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्दार गरेको जानकारी दिए ।
अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए ।
‘विषादी सेवन गरेका केस जटिल नै हुन्छन् । उहाँको अवस्था पनि गम्भीर छ,’ कमरले भने, ‘आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही भन्न सकिने अवस्था छैन ।’ रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।
प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार रानाले आफू छलफलका लागि आउने बताएका थिए । तर मंगलबार बिहान उपमहानगरपालिका कार्यालयमा देखिएका रानाले एकाएक विषादी सेवन गरेका थिए ।
रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका लगेको बताएका छन् । ‘बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईको छोरालाई हामी लग्दैछौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिए । नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुगाइएको छ । उहाँहरुमाथि शंका छ ।’
तर नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ ।
धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।