धनगढी : गत फागुन २४ गते राति दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि ढुङ्गामुढा र निवासमा आगजनी भएको घटना सार्वजनिक भयो ।
मध्यराति सुतिरहेको अवस्थामा अज्ञात समूहले आफुमाथि ढुङ्गामुढा र निवासमा आगजनी गरेको भन्दै प्रशासकिय अधिकृत अधिकारीले प्रहरीमा निवेदन दिए ।
घटनाको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटियो र घटनाको अनुसन्धान अगाडी बढाइयो ।
आफुलाई असुरक्षा भएको भन्दै घटनाको भोलिपल्ट फागुन २५ गतेदेखि सदरमुकाम खलंगा झरेका अधिकारी जिल्ला प्रशासनको कर्मचारी आवाश भवनको पाहुना कोठामा बस्दैआएका थिए ।
प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरुले उनलाई कर्मचारी आवाशमा बसाल्दैआएका थिए । १० दिनदेखि सिडिओकै भान्साबाट खाना खाइरहेका थिए । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए घटनाको अनुसन्धानको सुई प्रमुख प्रशासकीय अधिकृत तिरै सोझियो ।
प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफैले आगजनी गरेको खुलेपछि विरुद्ध गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्दसहित तीन जनाले जाहेरी दिए ।
गाउँपालिका उपाध्यक्ष चन्दले प्रशासकीय अधिकृत अधिकारीले आफैले घटना घटाएर अफवाह फैलाएपछि जाहेरी दिएको महेन्द्रनगरपोष्टलाई बताइन् ।
उनले भनिन्-‘घटनाको बेलुका नजिकैको पसलबाट लाइटर किनेको देखीयो, कोठामा लगाएको तालाको चाबि समेत आफैले लगाएर नजिकैको झाडीमा फालेको भेटीयो, राति कोठामा आगो लगाउनेबेला आफ्नो लुगा कपडाहरु बाहिर निकालेर आगो लगाएका रहेछन्, यहीबाट पनि उनैले आगो लगाएको पुष्टि हुन्छ ।’
उपाध्यक्षका अनुसार अधिकारीले आफैले सरकारी सम्पत्तिमा आगजनी गरेको र हल्ला फैलाएको कारण पालिकाको तर्फबाट जाहेरी दिइएको हो ।
यस्तै गाउँपालिका अध्यक्ष जमनसिहं धामीले अधिकारीले लामो समयदेखी सरुवाको लागि मन्त्रालयतिर धाइरहेको बताए । उनले भने-‘सरुवाको लागि समय नपुगेपछि उनको सरुवा भएको थिएन्, सरुवा नहुने देखेपछि असुरक्षाको कारण देखाएर पालिका छोड्न मनसायले घटना घटाएको देखीएको छ ।’ उनले आफु काठ्माडौं रहेकोले गाउँपालिका उपाध्यक्षले उनिविरुद्ध उजुरी दिएको बताए ।
सरुवाको चक्करमा सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा प्रशासकीय अधिकृत अधिकारी अहिले प्रहरी खोरमा पुगेका छन् । पक्राउ परेका छन् ।
चैत्र ४ गते प्रहरीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चैत्र ४ गते पक्राउपूर्जी थमाएर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भोलिपल्ट ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद प्रहरीले पाएको छ । प्रहरीले १० दिनको अनुसन्धान म्याद मागेकोमा जिल्ला अदालतबाट ७ दिनको अवधि प्राप्त भएको छ।
प्रहरी स्रोतका अनुसार अधिकारीले आफैले आगजनि गरेको समेत स्विकार गरिसकेका छन् ।