धनगढी: पछिल्लो समय धनगढीमा जुवा बढेको पाइएको छ। प्रहरीको तथ्यांक र पक्राउ विवरण अनुसार जुवा बढेको पाइएको हो।
कैलाली प्रहरीका अनुसार चैत ३ गतेमात्रै धनगढी उपमहानगरपालिका–७ मोती चोकमा रहेको कैलाली होटलका सञ्चालकसहित सात जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परे।
धनगढी उपमहानगरपालिका–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउदसहित ७ जुवाडेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ परेका थिए। त्यहाँ जुवाडेहरुबाट प्रहरीले नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक तास समेत नियन्त्रणमा लिएको हो। त्यसको केही दिनअघि धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पनि प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो।
स्रोतका अनुसार धनगढीमा मात्र नभएर अत्तरिया, टीकापुरसहित कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्रमा होटल, जंगलसमेतमा जुवा हुने गरेको छ। तर, प्रहरीलाई जुवाडेहरु र जुवा खेलाउनेले लाइन दिने गरेकाले कारबाही नहुने बताइन्छ।
प्रहरीका कार्यालय र हाकिमको सेटिङले जुवा मौलाएको बुझिएको हो। विशेषगरी अत्तरिया, गुलरिया, महेन्द्रनगर, दोधारा, टीकापुर लगायतका क्षेत्रमा यो व्यापक रहेको बुझाई छ।
सुदूरपश्चिममा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दर्जनौको संख्यामा प्रदेशका विभिन्न स्थानबाट प्रहरीले जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएको भए पनि थोरै व्यक्तिलाई मात्र कानुनी दायरामा ल्याएको पाइएको छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिममा जूवा खेल्न वा सट्टाबाजी गरेको भन्दै १५ जनाविरुद्ध मात्र मुद्दा चलाइएको हो।