धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-८ धरानमा होली समुहलाई चन्दा नदिएपछि हातपात गरेको घटना बाहिरिएको छ । शनिबार बेलुका ५ बजेतिर होली खेलिरहेको एक सुमहले चन्दा नदिएपछि गाडी चालकमाथि हातपात गरेको बुझीएको छ ।
शनिबार बिहानैदेखी स्थानिय युवाहरुले होलीको नाममा गाडीहरुलाई रोक्दै चन्दा मागीरहेका थिए । बेलुका ५ बजेतिर बझाङबाट धनगढीका लागि छुटेका बसहरुलाई पनि उनीहरुले रोकेर रोडमा होली खेलेको चन्दा मागेका थिए तर सुदूरपश्चिम यातायातको बसले ढोका नखोलेपछि आक्रोसित भएका युवाहरुले बाटो जाम गरे ।
त्यसलगत्तै खप्तड यातायातको बस पुग्यो र अर्कोतर्फबाट ट्रक आयो होली समुहले बाटो जाम गरेपछि ट्रकको ब्रेक नलागेर नालीमा फस्यो ।
बाटोभर होलीको नाममा चन्दा मागेर हैरान भएका गाडीहरुका कुनैपनि चालकले पैसा दिएनन् । पैसा नदिएपछि सामान्य विवाद सुरु भएको थियो ।
सबै गाडीहरुबाट चन्दा मागीरहेका उनीहरुले खप्तड यातायातको बसका चालक कृष्ण बोहरालाई हातपात नै गरे । जबरजस्ती चन्दा मागीरहेको र नदिएपछि हातपात गरेको बोहराले महेन्द्रनगरपोष्टलाई गुनासो गरेका छन् ।
उनले घटनाको बिषयमा स्थानिय सम्पर्क व्यक्ति र प्रहरीलाई समेत जानकारी गराएको र समयमा नआएपछि आफु धनगढी आएको बताए ।
यस्तै खप्तड यातायातका धरान सम्पर्क व्यक्ति प्रकाश बिष्टले हातपात भएको र आफुले होली खेल्ने समुहसंग बसेर छलफलसमते गरेको बताए । उनले भने विवाद भएको रहेछपछि प्रहरीलाई जानकारी गराएको थिए तर गाडी गएपछि घटना टुङ्गीएको बताए ।
यस्तै होली समुहले भने विवाद भएको तर हातपात नगरेको बताएको छ ।