काठमाडौं: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि नागरिक स्वस्थ्य हुनुपर्ने बताएका छन्। भट्टले नागरिकले स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिनुपर्ने बताए।
गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको दाबी गरे।
‘स्वस्थ जीवन भएमामात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ। योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ,’ उनले भने– ‘ मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो। त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसंग जोड्नुपर्छ। नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ।’
यस्तै प्रदेश प्रमुख भट्टले जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधीको विकासका लागि निकै उपयोगी क्षेत्र भएको बताए।
देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा पनि उनले जोड दिए। आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताए।