धनगढी: धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गर्न लागेको छ। बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए ।
२०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन। अहिले भने नेपाली सेना आफैंले मन्दिर निर्माण सुरु गरेको पाध्यायले बताए।
विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन।
‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो। तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन। यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको छ,’ उनले भने। पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको छ।
पुजारीका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो। सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण भइरहेको छ। दुई महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने तयारीमा सेना रहेको छ।
पुरातत्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टिमेटमा मन्दिर निर्माण हुन लागेको सेनाले बताएको छ।
बडिमालिका क्षेत्रको धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिबुटी तथा वातावरणीय दृष्टिकोणले विषेश महत्व रहेको छ। पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रूपमा परिचित छन्।