धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा लाखौंको तस्करीको विदेशी मदिरा भित्रिने गरेको खुलासा भएको छ। भारतीय प्रहरीले भारतको खटिमाबाट महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा मदिराको तस्करी गरेर बेचविखन हुने गरेको खुलासा गरेको हो।
हिजो (शुक्रवार) मात्रै नरेन्द्र शाह र हिमाल श्रेष्ठले सञ्चालन गरेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) का लागि आइरहेको तस्करीको मदिरा भारतीय प्रहरीले बरामद गरेको थियो। बरामदमात्र होइन, मदिरासहित २ जना मान्छे र गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
चम्पावत जिल्लाको प्रहरी चौकी बनबासा इलाकाबाट ५ पेटी (६० बोतल) अङ्ग्रेजी मदिरा र डिजायर कारसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
चम्पावत जिल्लाका प्रहरी उपरीक्षक अजय गणपतिको निर्देशन बमोजिम चम्पावत इलाका अधिकृत/टनकपुरको निरीक्षणमा उक्त अपरेसन भएको बताइएको छ।
बनबासाका प्रहरी थाना प्रमुख लक्ष्मणसिंह जगवान र एसओजी इन्चार्ज मनिष खत्रीको नेतृत्वको टोलीले नेपाल–भारत सडकखण्डमा रहेको प्रहरी चौकी बनबासाको नहर स्कुल मोडमा संयुक्त चेकजाँच गर्दा २ जनालाई पक्राउ गर्दै मदिरा र गाडी बरामद गरेको हो।
पक्राउ पर्नेमा खटिमाका २८ वर्षीय नजमुल हसन र ३२ वर्षीय रियाज अहमद रहेका छन्।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरूको युके १७ डी ४४५२ नम्बरको गाडीको डिग्गीमा विदेशी (अङ्ग्रेजी) मदिरा फेला परेको थियो। जसमा रेड, ब्ल्याक लेभलहरु समेत रहेको बताइएको छ।
अहिले पक्राउ परेका उनीहरू दुबैमाथि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ। यस्तै उनीहरूले बयानका क्रममा आफूहरुले ओपेराको क्यासिनोमा मदिरा तस्करी गर्ने गरेको बताएका छन्। प्रहरीले बरामद गरेको करिब २ लाख बढीको मदिरा पनि क्यासिनोकै भएको उनीहरूको भनाई छ।
स्रोतका अनुसार भारतबाट विदेशीको मदिरा सस्तोमा तस्करी गराएर क्यासिनोमा दोब्बर तेब्बर मूल्यमा बिक्रि गरिदै आएको छ।