धनगढी: नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद बल्झिएको छ। सुदूरपश्चिम प्रदेशमा पार्टीका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगर (दाहाल) लाई सहइन्चार्जको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो।
प्रदेशको पार्टी सहइन्चार्ज बनाइएपछि पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले बिनालाई नस्विकारे बताइन्छ। सिनियर नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बिनालाई माओवादी सुदूरपश्चिमम सहइन्चार्ज बनाएको पार्टीको प्रदेश कमिटीको बैठकमै कुरा उठेको बुझिएको छ। त्यतिमात्र होइन, हालै केही केन्द्रिय सदस्यहरुले बिनालाई बैठकबाटै बहिष्कार गरेका थिए।
प्रदेशस्तरको बैठकमा कैलालीका माओवादी नेता वीरमान चौधरी, हरि ज्ञवाली, भगत बडुवाल, हेमराज भट्टराई, नेपबहादुर चौधरी लगायतले बिनालाई बहिष्कार गरेका हुन्।
फागुन १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको इन्चार्ज र बिनालाई सहइन्चार्जको जिम्मेवारी दिएको थियो। उक्त निर्णयमा असहमति जनाउँदै तत्काल स्थायी समिति सदस्य खगराज भट्ट बैठकबाट बाहिरिएका थिए।
त्यसपछि विवाद सुरु भएकोमा फागुन १६ देखि चर्किएको विवाद अझै चर्किँदै गएको छ। यता इन्चार्ज पोखरेलले भने बहिष्कार गर्नेहरुलाई कारबाही गर्ने सवालमा कुनै स्पष्ट धारणा दिएका छैनन्।
पोखरेलले बहिष्कार र कारबाहीको सवालमा पार्टीको आन्तरिक कुरा भन्दै बहिष्कार गर्नेहरुसँग संवाद भैरहेको जनाएका छन्।
तर, बहिष्कार गर्नेलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषय उनले खुलाउन चाहेनन्।
र, यो पनि: प्रचण्ड बुहारीलाई सहइन्चार्ज नमान्ने भन्दै बैठक बहिष्कार