धनगढी : सशस्त्र प्रहरी बल नेपालको नं ७ बैद्यनाथ वाहिनीको २३ औं स्थापना दिवस धुमधाम मनाइएको छ। बिहीबार सशस्त्रको मुख्यालय अत्तरिया कैलालीको २३ औं स्थापना दिवस मनाइएको हो
सशस्त्र प्रहरी बल, नेपाल मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको बताइएको छ।
स्थापना दिवसको कार्यक्रममा नेपाली सेनाका पृतनापति, मन्त्रालयका सचिवहरू, स्थानीय तहका प्रमुखहरू, कैलाली तथा कन्चनपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो।
स्थापना दिवसको अवसरमा वृक्षारोपण, रक्तदान, धार्मिक स्थलहरुको सरसफाई, आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता, नेपाली सेना र नेपाली प्रहरीका अधिकृत सम्मिलित मैत्रीपूर्ण फुटबल प्रतियोगिता, शारिरीक सहिष्णुता प्रतियोगिता परिक्षा तथा अधिकृतस्तरको डबल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरेर सम्पन्न गरिएको सशस्त्रले जनाएको छ।
यस्तै उक्त अवसरमा समाजसेवी तथा बुद्धिजिवीहरुलाई कदरपत्रसहित स(सम्मान गरिएको र वाहिनीबाट भएको निरीक्षण तथा अनुगमनको क्रममा उत्कृष्ट हुने नं ३४ गण हेक्वा कैलाली, गुल्म हेक्वा डडेल्धुरा, सुरक्षा वेश मजगाँव तथा विओपि जुगेडालाई प्रशंशा पत्र प्रदान गरिएको थियो।
त्यस्तै कार्यक्रममा स्थापना दिवसको अवसर पारेर वाहिनी मुख्यालयमा आन्तरिक रुपमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै बाहिनीको काम कारवाहीमा वर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।