धनगढी: धनगढीमा मृत फेला परेका प्रहरी जवान टीकापुरकी युवतीसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। मृतक प्रहरी जवान सुरज बिक टीकापुरकी युवतीसँग प्रेम सम्बन्धमा रहेको खुलेको हो।
उनी बुधबार मृत अवस्थामा भेटिएका थिए। जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको थियो। विवाहित उनको प्रेम सम्बन्धका कारण पारिवारिक सम्बन्धमा खटपट आएको बुझिएको छ।
बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए।
स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको थियो।
तर, प्रदेशले उनलाई बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो। तर रमाना भएका जवान बिक रमाना हुनुपर्ने दिन नै मृत भेटिएका हुन्।
स्रोतका अनुसार उनकी पत्नी पनि प्रहरी कर्मचारी नै हुन्। मृतक बिकले मृत्युभन्दा अगाडि कैलालीकै गेटामा कार्यरत पत्नीलाई फोनसमेत गरेको बुझिएको छ। उनको स्थायी घर दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ हो।
र, यो पनि: धनगढीमा प्रहरी जवान मृत फेला, बझाङमा थिए ‘घुमुवा’