धनगढी : सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले हिजो (बिहीबार) राजीनामा दिए। उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।
नेपाली कांग्रेसको सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।
उनले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा सरकार काम चलाउ बनेको छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्नेछन्।
तर अहिलेसम्म भने सरकार गठनका लागि आह्वान भैसकेको अवस्था छैन। केन्द्रीय सत्ता गठबन्धन फेरिएको अवस्थामा सुदूरपश्चिममा पनि मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने भएपछि सरकार ढलेको हो।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संरक्षक रेशमलाल चौधरी (पति) र अध्यक्ष रञ्जिता श्रेष्ठ (पत्नी) बीचको विवादले पार्टीका प्रदेश सभा सदस्य नै विभाजित भएपछि मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने निश्चित भएको थियो। सोही कारण हिजो मत लिने तयारी गरेकै बेला नाउपाका २ प्रदेश सभा सदस्य काठमाडौंमै डेरा जमाएर बसेका थिए।
विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाह सरकारमै रहेको नाउपाका २ सांसद कैलाश चौधरी र टीका थापा काठमाडौँबाट धनगढी नफर्किने भएपछि उनले राजीनामा गरेका थिए।
उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेताको हैसियतमा २०७९ माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए।
तर गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य भंग गर्दै एमाले(रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएसँगै तत्कालीन सत्ता साझेदार नेकपा माअोवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शााह नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो।
शाह मुख्यमन्त्री पदबाट बाहिरिएसँगै अब एमालेसहितको नयाँ सत्ता गठबन्धनले सुदूरपश्चिममा सरकार गठनको गृहकार्य थालेको छ। योसँगै अब यहाँ नयाँ मुख्यमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ। त्यसो त नयाँ सत्ता गठबन्धनलाई पनि नागरिक उन्मुक्ति पार्टीबिना सुदूरपश्चिममा सरकार बनाउन कठिन छ।
५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक बहुमतका लागि २७ सांसद चाहिन्छ। तर नयाँ सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद मिलाउँदा सरकारलाई मत दिन मिल्ने संख्या जम्मा २४ मात्र हुन्छ। बहुमत पुर्याउन थप ३ सांसद आवश्यक पर्छन्।
यस अगाडि केन्द्रमा भएको समीकरणले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर सरकार बनाउने समझदारी पनि गरेको थियो। यहाँ समाजवादीमा दल नेता दीर्घ सोडारी रहेका छन्। तर, सुदूरपश्चिममा नाउपाले पनि पहिलेदेखि मुख्यमन्त्री दाबी गर्दै आएको छ। हाल नाउपाका संसदीय दलका नेता घनश्याम चौधरी छन। घनश्याम रञ्जिताइतर पक्षका हुन्।
नाउपाका कूल ७ सांसदमध्ये रञ्जिताले समानुपातिक सांसद इन्द्रिरा गिरीलाई बर्खास्त गरेको पत्र संसद् सचिवालयमा दर्ता भइसकेको छ।
त्यसो त सत्ता गठबन्धनभित्र एमाले पनि मुख्यमन्त्रीको प्रमुख दाबेदार दल हो। यसअघि मुख्यमन्त्री बनेर नाउपाले विश्वासको मत नदिँदा २९ दिनमै पदच्युत भएका एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्ने लाइनमा छन्।
उता, सुदूरपश्चिम सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामी पनि सम्भावित मुख्यमन्त्री हुन्। उनीसँगै धामी अघिका दल नेता खगराज भट्टको नाम पनि मुख्यमन्त्रीको चर्चामा छ।