महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको थियो। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित ७ जना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ।
यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर भागेका थिए।
प्रहरीका अनुसार हत्यारा सुटर बिलासपुर रामपुरका सुरेन्द्र सिंह र पन्जावका स्वरुप सिंह भने फरार रहेका छन्। उनीहरु नेपाल पसेको हुनसक्ने बताइएको छ।
अस्ति (बिहीबार) नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको थियो।नानकमत्ता हत्या प्रकरण सम्बन्धमा उधमसिंह नगरका वरिष्ठ प्रहरी उपरीक्षक डा. मञ्जुनाथ टीसीले दिएको जानकारी अनुसार पक्राउ परेका अभियुक्त जेल चलान भइसकेका छन्।
पक्राउ परेका अपराधीहरुविरुद्ध हत्या, डकैती, गुण्डा प्रथा जस्ता जघन्य अपराधका विभिन्न राज्यमा दर्जनौं मुद्दा दर्ता रहेको पनि बताइएको छ। यस्तै दुवै फरार अपराधी (सुटर) लाई खोज्न प्रहरीले ५० हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ इनाम राखेको छ।
र, यो पनि: नानकमत्ता हत्याकाण्ड: १० लाखमा सुपारी दिने ४ जना पक्राउ, सुटर नेपाल छिरे ?