धनगढी : बाजुराको बूढीनन्दा नगरपालिकामा डम्पिङ साइड बनाउने भन्दै दुइटा खाल्डा खनेर पौने २ करोडभन्दा बढी बजेट खर्च गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खड्काबाडा गाउँमाथिको वनमा डम्पिङ साइड बनाइएको थियो ।
डम्पिङ साइडको नाममा दुइटा खाल्डा मात्रै बनाउन नगरपालिकाले १ करोड ८९ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । त्यही पनि प्रयोग हुन नसकेपछि नगरपालिकाले वडा नम्बर १ मा फेरि अर्को बनाउने तयारी थालेको छ ।
करिब ४ वर्षअघि उक्त डम्पिङ साइड बनाउँदा नै स्थानीयबासीले विरोध गरेका थिए । डम्पिङ साइड निर्माणका लागि लागेको ठेक्का पनि मिलेमतोमा भएको आरोप स्थानीयको छ । हन्डिक इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रन्सन प्रालिले डम्पिङ साइड निर्माणको ठेक्का पाएको थियो ।
डम्पिङ साइड निर्माणका बेला मेयर नेपाली कांग्रेसबाट निर्वाचित पदमकुमार गिरी थिए । अहिले एमालेबाट निर्वाचित जनककुमार बोहोरा मेयर छन् ।
मेयर बोहोरा डम्पिङ साइडको नाममा खाडल मात्रै खनिएको र गाउँभन्दा माथि बनाइएकाले त्यसलाई प्रयोग गर्न नसकिने बताउँछन् ।
फोहोर व्यवस्थापनका लागि उक्त ठाउँ उपयुक्त नभएरै नगरपालिकाले अहिले वडा नम्बर १ मा डम्पिङ साइड बनाउन अध्ययन गरिरहेको बोहोराले बताए ।
स्थानीय धनबहादुर खड्काले दुइटा खाल्डाको लागि मात्रै यति ठूलो खर्च गर्दा बजेटको चरम दुरुपयोग भएको बताउँछन् ।