काठमाण्डौँ: पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। सोमवार रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो।
इन्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको नेपाल आयल निगमले जनाएको छ।
पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ।