धनगढी: नेपाल प्रहरीका सुदूरपश्चिमस्थित प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआइजी रविन्द्र केसी सुदूर पहाडतिर उक्लिएका छन्। केही दिन अगाडि सुदूरपश्चिमको पहाडी जिल्लाको अनुगमन तथा भ्रमणमा निस्किएका केसी बझाङ पुगेर फर्किने बताइएको छ।
बझाङमा यहीँ बैशाख १५ गते प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदै छ। सोही क्रममा सुरक्षा व्यवस्था बुझ्न डीआइजी केसी त्यहाँ पुग्ने बताइएको हो। उनीसँगै टोलीमा डीएसपी भरतबहादुर चौधरी पनि छन्। धनगढीबाट पहाड उक्लिएर दार्चुला हानिएका उनले त्यहाँको जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेर मातहत कर्मचारीलाई निर्देशनसमेत दिएको बुझिएको छ।
हिजो (मंगलबार) केसीले जिल्ला प्रहरी कार्यालय दार्चुलाको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका हुन्। स्रोतका अनुसार उनले जिल्लाको समग्र शान्ति, सुरक्षा एवं समसामयिक वस्तुस्थितिका बारेमा जानकारी लिएको र जिल्लाआ अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा काम गर्न निर्देशन दिएका थिए।
यस्तै उनले प्रहरीलाई गैर-व्ययवसायिक क्रियाकलापमा संलग्न नहुन, फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई प्राथमिकता साथ प्रभावकारी ढंगले अघि बढाउन भनेका छन्। योसँगै सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्ने उनले निर्देशन दिएका थिए।
यस्तै आज (बुधबार) भने डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय बैतडीको आन्तरिक तथा बाह्य निरीक्षण गरेका छन्। सो क्रममा उनले अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, लागू औषध ओसारपसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदीजन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रण लगायतका विषयहरुमा निर्देशन दिएको बताइएको छ।
यस्तै जिल्लामा गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुनसमेत उनले निर्देशन दिएका छन्। आज डीआइजी केसी बझाङ गएर त्यहाँ पनि निरीक्षण तथा अनुगमन गर्ने र कैलालीको धनगढी फर्किने कार्यक्रम रहेको बताइन्छ।