काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यातायात व्यवस्था विभागका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।
यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआइबीले पूर्वकर्मचारी सुरज प्रकाश अर्याललाई पक्राउ गरेको हो ।
लिखित र ट्रायल बिनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाईसेन्स जारी गरेको प्रकरणमा सिआईबीले विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।
विभागमा ३ वर्ष कार्यरत रहेका अर्याल गतवर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए । त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका थिए । हाल अर्याल अख्तियारमा कार्यरत् छन् ।
लाइसेन्स वितरणमा अनियमितताको उजुरी पाउनासाथ यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा समिति बनाएको थियो ।
विभागको छानबिनले एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको थियो। त्यसैमाथि किर्तेमा अनुसन्धान गर्न सिआइबीलाई विभागले पत्राचार गरेको थियो ।
लामो समयपछि सिआइबीले आरोपितलाई पक्राउ गर्ने तहमा पुगेको हो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।