काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुदूरपश्चिमकै पहिलो एपीएफ स्कुलको उद्घाटन गरेका छन्। आज (सोमबार) एक कार्यक्रमका बीच अर्यालले कञ्चनपुरको झलारीस्थित उक्त स्कुलको विधिवत रुपमा उद्घाटन गरेका हुन्।
हालै सशस्त्र प्रहरीले नेपालकै कान्छो स्कुलको रुपमा शुक्लाफाँटा नगरपालिका–५ मा उक्त स्कुल सञ्चालनमा ल्याएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले स्कुलको उद्घाटन गर्दै सो स्कुलले एपीएफ र सर्वसाधारणसमेतका विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए। उनले सेवामूलक भावले कञ्चनपुरमा पहिलोपटक एपीएफ स्कुल सञ्चालनमा आएको बताए।
उनले भने, ‘यो स्कुलले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित हुने विश्वास लिएको छुँ। हामी मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुशरण गर्दै रोजगारमुलक, व्यवसायीक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,’ उनले थपे, ‘हाम्रो मुनाफारहित नैतिकवान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य हो। गुणस्तरीय शिक्षामा हाम्रो जोड छ। सर्टिफिकेट दिनेमात्रै भन्दा पनि हामी व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्छौ।’
सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्धारा देशका विभिन्न ठाउँमा एपीएफ स्कुल सञ्चालनमा छन्। विसं. २०६२ सालमा सशस्त्रले किर्तिपुरबाट विद्यालय सञ्चालन गर्न थालेको थियो। कञ्चनपुरको झलारीमा विद्यालय सञ्चालनमा आएसंगै हाल देशभर सशस्त्र प्रहरीको विद्यालय संख्या चार पुगेको छ।
उक्त स्कुलका समादेशकसमेत रहेका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो। उक्त स्कुलमा कक्षा ४ र कक्षा ५ को पठनपाठन सुरु गरिएकोमा अहिले एक सय ५ जना विद्यार्थी चालु शैक्षिक सत्रका लागि भर्ना भएका छन्।