काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट हेरिरहेको बताएका छन् । बुधबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका हुन् ।
गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो ।
गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायिक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने अवस्था रहेको आफूहरूले सभापतिलाई सुनाएको सुवेदीले बताए ।
देउवाले सभापति देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीविरुद्ध लड्न तयार रहेको बताएका थिए ।
‘कम्युनिस्टको सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । म लड्ने हो । तपाईंहरु लड्न तयार हुनुस् । मलाई साथ दिनुहोस्,’ देउवाको भनाइ सुवेदीले सुनाए । संवैधानिक निकायले लोकलाज राख्लान् भन्नेमा विश्वस्त रहेको देउवाको भनाइ थियो ।
निर्वाचन आयोगले जसपा नेपाल फुटाउन हतार गरेकोमा पनि देउवा रुष्ट देखिएका छन् । ‘गण्डकी प्रदेशबारे सर्वोच्चको फैसला र जसपा नेपाल विभाजन गर्न निर्वाचन आयोगले गरेको हतार स्वाभाविक छैन भनेर सभापतिजीले भन्नुभयो,’ सुवेदीले भने ।