धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट। जो करिब एक महिनायता रुसी सेनामा भर्ती भएका आफ्ना श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा थिइन्।
उनी काठमाडौंमा पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन आन्दोलित थिइन्। तर विराजनको मृत्यु भएपछि उनको त्यो आन्दोलनको पनि मृत्यु भएको छ।
आन्दोलन छोडेर काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन्। यही बेला उनको परिवारमा विराजनको मृत्युको खबर पुग्यो।
त्यसपछि अस्ति बिहीबारमात्र मृतकको कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरिएको छ। अहिले लास समेत नआएका विराजनकी श्रीमती चाँदनी र छोरा विश्वासजंग किरियामा बसेका छन्।
४३ वर्षीय विराजन मंसिर १८ मा दिल्ली हुँदै रुस पुगेका थिए। उनीसँगै उनका उनका भाइ निराजन र नाति नाता पर्ने छिमेकी लोकेन्द्र पनि रुसी सेनामा भर्ती हुन गएका थिए। परिवारका अनुसार उनीहरू सबैजना दलाललाई जनही ७ लाख बुझाएर अघि बढेका थिए।
मंसिर २१ मा सेनामा भर्ती भएका उनीहरू चैत मध्यसम्म युद्धमा खटिइसकेका थिएनन्। युद्धमा नजाउन्जेलसम्म सम्पर्कमा रहेका उनीहरू युद्धमा खटिएपछि सम्पर्कविहीनजस्तै हुन पुगेका थिए। त्यसको केही समयपछि विराजनको मृत्युकै खबर आएको हो।
यस्तै मृतकका भाइ र नाति पनि अहिले गायब छन्। यसले परिवारमा शोकमाथि शोक परेको छ।
एउटै मोर्चामा संगै रहेका भाईलाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका विराजनको एम्बुस बिष्फोटमा परेर मृत्यु भएको बताइएको छ। उनी युक्रेनी भूभाग तोकमाकमा थिए।
मृतक विराजन भने १० वर्ष नेपाली सेनामा काम गरेर रोजगारीका लागि विभिन्न देश पुगेका थिए। उनले सिंगापुर, यूएईलगायतका देशमा पुगेर कतै सेक्युरिटी गार्ड त कतै पानी जहाजमा काम गरेका थिए।
बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानोठिमी भक्तपुरमा समेत बसोबास छ।
युक्रेनमा अस्ताएका बिष्टका परिवाजनले शव पाउने संभावना नरहेपछि मृत्यु भएको आठौ दिनमा बिहीवार कुँशको शव बनाएर कञ्चनपुरस्थित महाकाली नदीमा उनको अन्त्येष्टि गरेका थिए।
रुसी सेनामा रहेका बर्दियाका परशुराम चौधरी, सुर्खेतका महेश चन्द र भारतीय नागरिक अंकितले बिराजनको मृत्यु भएको पुष्टि गरेपछि परिवारजनले बिहीवार उनको मृत्यु संस्कार गरेको हो।