काठ्माडौं : गत बिहीबार एकाबिहानै सप्तरी प्रहरीमा बैंकका एक सुरक्षागार्डको हत्या भएको खबर आयो । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।
प्रहरी टोलीले सीसीटीभी नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । सीसीटीभीअनुसार बिहीबार बिहान ३ बजेर १८ मिनेटमा फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको पुष्टि भयो ।
प्रहरीलाई यो घटना लुटपाटका लागि भएको पनि सीसीटीभी फुटेजबाट नै स्पष्ट भयो । किनकि लुटेराले बैंकमा लुटपाटको प्रयासमा गार्डको हत्या गरेको थियो । उसले बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि लुटेरा फर्किएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
घटनालगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान थालियो । मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलका अनुसार घटनामा छानबिन र आरोपितलाई पक्राउका लागि प्रदेशस्तरीय प्राविधिक टोली तथा जिल्लागत टोलीहरु खटाइएको थियो ।
त्यसअनुरुप प्रहरीले लुटपाटमा संलग्नलाई पक्राउ गर्न धेरै दिन लागेन । शनिबार राति नै मकवानपुरको लोथरबाट प्रहरीले लुटेरालाई पक्राउ गर्न सफल भयो । आरोपितलाई सप्तरी प्रहरीले आइतबार दिउँसो सार्वजनिकसमेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तकोशी नगरपालिकाकै ३२ वर्षीय चन्द्रबहादुर सुवेदी छन् । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी न्यौपानेका अनुसार सुवेदी सशस्त्र प्रहरीका भूतपूर्व जवान हुन् । ९ वर्षसम्म सशस्त्र जागिर गरेपछि उनले १६ महिनाअघि राजीनामा दिएका थिए ।
न्यौपानेका अनुसार सुवेदीले लुटपाटका लागि केही दिनअघि बैंकको रेकी गरेका थिए । यस्तै, लुटपाटको दिन बिहीबार बिहान साढे ३ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए । उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका थिए । बैंकको एउटा ताला फुटाउन सके पनि अर्को ताला फुटाउन नसकेपछि गार्डको कोठामा पुगेका थिए । त्यहाँ चाबि लिन थाल्दा गार्डसँग झडप भएको थियो । त्यही क्रममा उनले गार्डको हत्या गरेका थिए ।
फुँयाल सोही नगरपालिकाको वडा नं.२ निवासी थिए । तर, बैंक लुट्न नसकेपछि फर्किएर भाग्ने क्रममा सुवेदी मकवानपुरको लोथर पुगेका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गरेको छ । यस्तै, सुवेदीले घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल, घटनामा प्रयोग भएको हेक्सो बलेड, रेन्चु, पिलास, डोरी र रड, वरदात स्थलमा प्रयोग गरेको काठ पनि बरामद गरेको छ ।