धनगढी : भारतको दिल्लीमा ६५ वर्षीय डाक्टर योगेशचन्द्र पालको हत्या गरेर चार नेपाली फरार भएका छन् । डाक्टर पालको मे १० मा दिल्लीको जंगपुरास्थित आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार हत्यामा ७ जनाको संलग्नता रहेको छ । जसमध्ये ४ जना नेपाली नागरिक रहेका छन् । चारै जना नेपाली नागरिक नेपाल भागेको आशंका गरिएको छ ।
हत्याको मुख्य योजनाकार डाक्टर पालकी कर्मचारी बसन्ती हुन्, जो २४ वर्षदेखि मृतक डाक्टरको घरमा कार्यरत थिए । २४ वर्षसम्म घरमा राखेकी महिलालाई सबै थोक दिने परिवारले कल्पना पनि गरेका थिएनन् ।
डाक्टरको घरको पहिलो रेकी दुई दिनसम्म पुरै टोलीले गरेको थियो र सराई काले खानको होटलमा बसेर मृतक चिकित्सकको घरको रेकी गरिरह्यो ।
वैशाख १० गते बिहान करिब १ः३० बजे मृतक चिकित्सकको घर पछाडिको ढोकाबाट ५ जना प्रवेश गरेका थिए । केही अभियुक्तले घरमा लुटपाट गरेका छन् । केही व्यक्तिले डाक्टरको हात खुट्टा कुर्सीमा बाँधेर घाँटी थिचेर हत्या गरेका छन् ।
बसन्तीले मेसेन्जरबाट भिडियो कल गर्ने साथी वर्षा मार्फत डाक्टरको घरका हरेक कुनाको सुराग दिईन् ।