धनगढी: सत्ता समीकरण एवं गठबन्धनबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाहिरिने चर्चा सुरु भएको छ। चर्चामात्र होइन, नेकपा एसकै केन्द्रीय नेताहरूले गठबन्धन छोड्ने तयारी भैसकेको बताएका छन्।
नेकपा एसका एक केन्द्रीय सदस्यले आफूहरु सत्ता गठबन्धनबाट बाहिरिने मुडमा रहेको बताए।
उनका अनुसार सोही अनुरुप पार्टीभित्र थप छलफल चलिरहेको छ। उसो त उपेन्द्र यादवको तत्कालीन जसपा नेपाल फुटेपछि नेकपा एस बाहिर रहँदा पनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ। पार्टी फुटसँगै उपेन्द्र यादवले भने सरकार छाडिसकेका छन्। उनीसँगै माधव नेपालले पनि सरकार छोड्ने तयारी गरेका हुन्।
केन्द्रमा एमाले, माओवादी, रास्वपा, फुटेको जसपा र नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ।
यसैक्रममा सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन र सरकारको नेतृत्व गरिरहेको नेकपा एसका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी संकटमा परेका छन्। केन्द्रीय राजनीतिक मुभमेन्ट र सुदूरपश्चिममा एमालेले दीर्घलाई विश्वासको मत नदिने अडान राख्दा उनी अप्ठ्यारोमा परेका हुन्।
उनले अहिलेसम्म विश्वासको मत लिन पाएका छैनन्। यस अगाडि वैशाख २१ र २२ गते उनले विश्वासको मत लिने तयारी गरेका थिए। तर, एमालेले तत्काल केन्द्रसँग परामर्श नगरी विश्वासको मत दिन नसक्ने बताएपछि उनले अहिले फेरि ३ गते विश्वासको मत लिने गरी तयारी थालेका छन्।
तर अहिले ३ गते पनि उनले विश्वासको मत दिन सक्ने अवस्था नरहेको एमाले स्रोतको दाबी छ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिनैपर्ने अवस्था छ। सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटपछि आगामी बिहीबार विश्वासको मत लिने तयारी गरेको बताइन्छ। प्रदेश सभा सचिवालयका अनुसार उनले जेठ ३ गते बिहीबार बिहान १०: १५ बजे प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
तर, एमालेले अझै विश्वासको मत दिने विषयमा निर्णय गरिसकेको छैन। एमालेले उनलाई मत नदिए उनको बहिर्गमन हुनेछ।
जेठ ४ गतेसम्म मुख्यमन्त्री सोडारीले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सुदूरपश्चिममा नेकपा एसका सोडारीले विश्वासको मत नपाएपछि गठबन्धनले अर्को दलको नेतृत्वमा सरकार निर्माणको पहल थाल्ने छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।
६ वैशाखमा ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
बझाङ उपचुनावमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्ता गठबन्धनलाई बहुमतका लागि झनै सहजता छ। मुख्यमन्त्री दाबी गर्दा देखि नै सोडारीलाई नरुचाएको एमाले अन्तिममा आएर गठबन्धन जोगाउन समर्थन दिन तयार भएको थियो। तर एमाले अहिलेसम्म सरकारमा सामेल भएको छैन।
एमालेमा हुँदा ओलीले नै कारबाही गरेको तथा नैतिक पृष्ठभूमि धुमिल रहेको भन्दै एमालेले सोडारीलाई अड्को थाप्ने गरेको छ।