काठमाडौं: नेपाल प्रहरीका एसएसपीहरुको बढुवा अन्यायपूर्ण भएको भन्दै विवादमा परेको छ। अस्ति मध्यरातमा गरिएको डीआइजी बढुवा सिफारिस विवादमा परेको हो।
अन्यायपूर्ण तरिकाले जुनियरलाई बढुवा गरिएको भन्दै विवाद र आलोचना चुलिएको हो। अस्तिमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका थिए। बढुवा सिफारिस समितिले पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल, दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
हाल तीन डीआईजीको दरबन्दी अहिले रिक्त भए पनि यहीँ १० जेठमा अर्का डीआईजी सुरेन्द्र मनौली उमेर हदका कारण अवकाशमा जाने भएपछि मैनालीको ठाउँमा रिक्त हुने दरबन्दीलाई समेत मिलान गरेर चार जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।
तर उक्त बढुवामा सरकार, गृहमन्त्री र हालका आइजीको चर्को आलोचना भएको छ। जुनियरलाई बढुवा गरेर चेन अफ कमाण्ड भत्किएको भन्दै थुप्रैले यसलाई गलत भएको बताएका छन्।
यसपटक २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका करिब ३ दर्जन एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा थिए। जसमा २०५२ मा इन्सपेक्टर भएका शर्मासँगै २०५४ को टोलीका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन्।
तर, २०५१ र २०५३ को टोली भने बढुवामा छुटेको छ। अझ यो बढुवामा २०५३ सालमा इन्सपेक्टरमा भर्ना भएकाहरु छुटेकाले उनीहरु भावि आईजीको प्रतिस्पर्धाबाट अहिलेकै अवस्थामा आउट भएका छन्।
जसकारण २०५३ मा इन्सपेक्टर भएका एसएसपीहरु आफूहरु बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ को टोलीलाई बढुवा गर्न नहुने लबिइङमा थिए। तर, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बढुवा सिफारिस समितिले २०५४ को टोलीका कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो। हालसम्मकै निरीह आइजी बसन्त बहादुर कुँवरको बढुवामा पनि निरीहता प्रकट भएको बताइन्छ।
एक नम्बरमा बढुवा सिफारिस भएका शर्माभन्दा अघि भने भोलाबहादुर रावल, ध्रुवराज राउत, दिल्लीराज बिष्ट र गणेश चन्दले इन्सपेक्टरको नियुक्ति लिएका थिए। तर, डीआइजी बढुवामा भने उनीहरू अटेनन्। तर, उनीहरु बढुवामा छुटेका छन्।
यस्तै ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका २०५३ को टोलीबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत पनि छुटेका छन्।
अहिले २०५३ को टोली र २०५१ को टोलीलाई समेत उछिनेर २०५४ को टोली डीआईजीमा बढुवा भएको हो। उनीहरुको बढुवासँगै राष्ट्रिय अनुसन्धानबाट आएको टोली अहिलेकै परिस्थितिमा आईजी बढुवाको प्रतिस्पर्धाबाटै रिङ आउट हुने देखिएको छ।
उसो त यस अगाडिदेखिका बढुवा र सरुवा पनि विवादित बन्दै आएका छन्। यस अगाडि गरिएको डीएसपी बढुवादेखि इन्सपेक्टरको सरुवा एवं गृहमन्त्रीले बिना कारण जिल्लाको कमाण्ड सम्हाल्ने एसपीहरुलाई तान्ने गरेको विषयमा चर्को विरोध हुँदै आएको छ। हालको डीआईजी बढुवा पनि गृहमन्त्रीकै इन्ट्रेस्टमा भएको बुझिएको छ।
र, यो पनि: प्रहरीका ४ एसएसपीको डीआइजीमा बढुवा सिफारिस [नामसहित]
गृहमन्त्री र उनका कार्यकर्ताको चाकडी नगर्दा पुलिसका हाकिम तानिदैं
‘रबर स्ट्याम्प’ आइजी, गृहमन्त्रीको नाङ्गो हस्तक्षेप