धनगढी: सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएपछि सरकार विस्तारको गृहकार्य थालेका छन्। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीका सोडारीको नेतृत्वमा सरकार बनेको छ।
उनले गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसहित एक स्वतन्त्रलाई समेत मिलाएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। तर स्रोतका अनुसार हालसम्म गृहकार्य थालिएकोमा सरकार विस्तारको टुंगोमा पुग्न भने सकिएको छैन।
गठबन्धन दलभित्रका धेरैजसो माननीयहरुले मन्त्री बन्ने इच्छा प्रकट गरेर मन्त्री खाइछाड्ने लाइनमा लागेपछि गठबन्धन दलभित्र रहेका पार्टी र संसदीय दलमै रडाको मच्चिएको छ। सोही रडाकोका कारण पनि मुख्यमन्त्रीले तत्काल सरकार विस्तार गर्न सक्ने अवस्था देखिदैन।
यद्यपि नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतले सरकारको आगामी आर्थिक वर्षको बजेट पनि ल्याउने समय नजिकिनै लाग्दा सरकार विस्तारको कार्यलाई शिघ्र पार्नेतर्फ छलफल अगाडि बढाएको बताइन्छ।
स्रोतका अनुसार अहिलेसम्म पनि सरकारमा नजाने भन्दै आएको एमालेले बाहिरी रुपमा सरकारमा नजाने भनेपनी केही प्रदेश सभा सदस्यहरुले भने सरकारमा जाने तयारी गरेको र मन्त्रालयको समेत बार्गेनिङ गरिरहेको पाइएको छ। एमालेले सुदूरपश्चिममा अर्थ र आन्तरिक तथा कानुन मन्त्रालयमा दाबी गरेको बताइन्छ।
जसमा एमालेबाट बैतडीका सुरेन्द्र पाल, कञ्चनपुरका वीर बहादुर थापा पातल र डोटीका चक्र मल्लसमेत मन्त्री बन्ने लाइनमा रहेको बुझिएको छ। तर यसबारे एमालेको संसदीय दलले भने कुनै निर्णय नभएको बताउँदै आएको छ।
यस्तै अर्को गठबन्धन दलमा रहेको नेकपा माओवादी केन्द्रमा पनि थुप्रै माननीयहरु मन्त्री पद हत्याउने दौडमा छन्। यद्यपि माओवादीले सरकारमा जान केन्द्रको निर्णय र निर्देशनको कुरिरहेको बताइन्छ।
स्रोतका अनुसार माओवादीमा पूर्वमन्त्रीसमेत मन्त्री दोहोरिन कसरतमा जुटेका छन् भने पहिले मन्त्री हुन नपाएकाले पनि दाबी प्रस्तुत गरेका छन्। माओवादीमा यसअघि काँग्रेसको नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका झपट साँउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रमेशसिंह धामीले पनि मन्त्री बन्न इच्छा राखेकोले दोहोरिनका लागि प्रयास गरिरहेको बताइन्छ।
यस्तै उनीहरूबाहेक प्रदेश सभा सदस्य शिव ओली, ओम विक्रम भाट सरल, अक्कल रावल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ। तर, अहिलेसम्म माओवादीको पनि यसबारे दल र केन्द्रले कुनै निर्णय भने गरिसकेको छैन।
उता स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी पनि योपल्ट मन्त्री बन्ने लाइनमै छन्। उनले पनि मन्त्रीका लागि कसरत गरिरहेको बताइन्छ।
कम मन्त्रालय र मन्त्री बन्नेको संख्या बढी हुँदा सुदूरपश्चिममा सरकार विस्तारमा ढिलाई हुने देखिएको छ। त्यसमाथि गठबन्धन दलभित्र कुन मन्त्रालय कसले लिने भन्ने विषयमा पनि सहमति भएको छैन। एमाले र माओवादी दुबैले अर्थमा दाबी गर्दै आएका छन् भने अन्य मन्त्रालयको पनि भागवण्डा टुंगो लागेको छैन।
तर मुख्यमन्त्री सोडारीले भने मन्त्रालय फुटाएरै पनि सरकार विस्तार गर्ने सोचेका छन्। उनले यस अघि भने नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्बाधार र टीका थापालाई कृषि, सहकारी तथा भूमिसुधार मन्त्री नियुक्त गरिसकेका छन्।
अन्य मन्त्रालय भने मुख्यमन्त्री आफैंले सम्हाल्दै आएका छन्।