धनगढी: कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा प्रहरीमा पुगेर मिलेको छ। जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको शनिबार खानीडाँडा पिकनिकमा गएका बेला लफडा भएको थियो।
सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा हिजो ४ जनाविरुद्ध उजुरी गरेका थिए। तर उनीहरू आफैं मिलेर गएकाले मुद्दा दर्ता नभएको र उपचार गर्ने गराउने शर्तसहित मिलापत्र गरिएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिपेन्द्र पालले बताए।
उनका अनुसार हिजो उनीहरू आफैं मिलेर गएका हुन्। अस्ति पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको थियो।
घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका थिए। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए।
बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसियालीमा उनीहरू पिकनिक गएका थिए।
सोही कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको थियो। बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका थिए।