काठमाडौं : नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ।
जाजरकोटका शाहीसँग अस्ट्रेलियाको स्थायी बसोवास अनुमति अथवा परमानेन्ट रेसिडेन्सी (पीआर) रहेकोभन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो। पीआर भएको मात्रै नभएर अन्य योग्य प्रतिस्पर्धीलाई छोडेर उनलाई शक्तिकै आडमा नियुक्त गरेको आरोपसमेत लागेको छ। उनीविरुद्ध ८ गतेका दिन अख्तियारमा उजुरी परेको बताइएको छ।
गत फागुन १४ मा कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै आवेदन माग गरेको थियो। सीईओ पदकालागि लिखित परिक्षामा ६ जना सहभागी भएको बताइएको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि शाहीलाई नियुक्त गरिएको थियो।
शाहीलाई केही दिनअघि वैशाख ३१ गते मात्रै सीईओमा नियुक्त गरिएको थियो। नलगाड हाइड्रोपावर कम्पनीको सिईओ छनोट गर्न गठित उपसमितिले उनलाई नियुक्त गरेको थियो।
शाहीपछि वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका देवेन्द्र केसीले अख्तियारमा उजुरी दिएको बताइएको छ।
विदेशी पीआर भएको व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै शाहीविरुद्ध उजुरी परेको हो।कम्पनीले जाजरकोटको नलगाडमा ४१७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला पनि जाजरकोट हो।
उर्जा मन्त्रालय अन्तर्गतकै नलगाड हाइड्रोपावर कम्पनीको सीईओमा नियुक्त भएका शाही विवादमा परेका हुन्। उजुरी गर्ने केसी करिब १८ वर्षदेखि हाइड्रोपावर क्षेत्रमा काम गरिसकेका व्यक्ति हुन्। कालिगण्डकी, मध्यमस्र्याङ्दी, राधी, सार्दीलगायत हाइड्रोपावरमा काम गरेको अनुभव उनीसँग छ।
हाल विस्तृत अध्ययन पूरा भएको उक्त नलगाड आयोजनाका लागि सरकारले लगानी खोजिरहेको छ। लगानी जुटाउन नसक्दा आयोजना निर्माण अघि बढेको छैन।