काठमाडौं : हिन्दु धर्मका गुरु निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरी महाराज नेपाल भ्रमणमा आएका छन्। उनी हिजो (बिहीबार) नेपालस्थित काठमाडौं आइपुगेका हुन्।
हिजो दिउँसो काठमाडौँ आइपुगेका साँझ पूर्वराजालाई पनि भेटेका छन्। हिन्दु अध्यात्मिक गुरुका रुपमा चिनिएका कैलाशानन्द एक सहयोगीका साथ हिजो नेपाल एयलाइन्सको उडान नम्बर आरए-२१८ बाट काठमाडौँ ओर्लिएका थिए।
उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भव्य स्वागत गरिएको थियो। उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता तथा सांसद सन्जय गौतम, सिआइबी प्रमुख श्याम ज्ञवालीलगायत विमानस्थल पुगेका थिए।उनको नेपालमा उपप्रधानमन्त्रीसरह सुरक्षा प्रवन्ध मिलाइएको बताइएको छ।
हिजै उनले पूर्वराजासँग करिब सवा घण्टा लामो भेटवार्ता गरेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ। नेपालको धार्मिक भ्रमणमा रहेका उनले एकाएक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको हो।
आज स्वामी कैलाशानन्द गोदावरीस्थित गोदावरी भिलेज रिसोर्टमा बसेका छन्। नेपालका विभिन्न धार्मिकस्थल घुम्ने योजना लिएर काठमाडौँ आएका उनी बिहान पशुपतिनाथको दर्शन गर्न पुगेका थिए। लगत्तै दक्षिणकाली गएका उनले मुक्तिनाथ, लुम्बिनीलगायतका तीर्थस्थलहरुको भम्रण गर्ने कार्यक्रम छ।
स्वामी विशेषगरि विश्व शान्तिका लागि हवन, ध्यान गर्न नेपाल पुगेको बताइन्छ। उनले मुक्तिनाथको समेत दर्शन गरेर फिर्ता हुने कार्यक्रम छ।