धनगढी : कैलालीमा अत्यधिक गर्मी बढेको छ। कैलालीकोे तापक्रम मङ्गलवार ४२ डिग्री सेल्सियस मापन गरिएको हो ।
महाकाली वेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार मङ्गलवार कैलालीको अधिकतम तापक्रम ४२ डिग्री पुगेको छ । न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको छ । जेठ ५ गते कैलालीको तापक्रम ४२ दशमलव १ डिग्री पुगेको थियो।
गत जेठ ५ गतेको न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको छ । गत शनिवार कैलालीको तापक्रम ४१ डिग्री मापन गरिएको छ। शनिवार कैलालीको न्यूनतम तापक्रम २७ दशमलव ४ डिग्री मापन गरिएको थियो ।
पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको हो। तीन दिनसम्म अझै गर्मी हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
गर्मीले विद्यालय आउन छाडे विद्यार्थी
अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।
त्रिनगर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन्।
दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ। धनगढीकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन्।
यस्तै कक्षा ५ मा अध्यननरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन्। ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ’, उनले भनिन्, ‘अधिकांश साथीहरु बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरु गर्मीमा विद्यालय नियमित आउँदैनन्।’
धनगढीभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउँछ। केही विद्यालयमा टिनका छाना छन्।
अझ बिजुली गएका बेला बस्नै कठिन छ। प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन्।
अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन्।