काठमाडौं: सुदूरपश्चिमका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्धको मुद्दामा फैसला गर्ने ३ न्यायाधीशविरुद्ध उजुरी परेको छ।
क्यासिनो किनबेचको फर्जी कारोबारसम्बन्धी विशेष अदालतको उक्त फैसलाविरुद्ध न्यायपरिषद्मा उजुरी परेको हो। फर्जी कारोबारलाई मान्यता दिँदै विशेषले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको भन्दै न्यायपरिषद्मा तीन न्यायाधीशविरुद्ध उजुरी परेको जनाइएको छ।
जसमा महेन्द्रनगरस्थित डायमण्ड र काठमाडौंको रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएको हो। पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी भेषराज लुइँटेलले उजुरी गरेका हुन्।
गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो। न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा तीनै न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको छ। फैसलाको पूर्णपाठ भने आएको छैन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ कात्तिक ०७९ मा सिंहसहित उनकी श्रीमती शारदादेवी सिंह, छोरा जीवनबहादुर सिंह, कर्मचारी जयन्ती थापा र उनको कम्पनी गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायत कार्य गरी कसुर गरेको विभागको अभियोग थियो। कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको पनि आरोपपत्रमा उल्लेख छ।
सिंहले रोयल क्यासिनो सञ्चालन गर्ने गिल्ट इन्भेस्टमेन्ट कम्पनीकी सुपरभाइजर रहेकी जयन्तीलाई २५ करोडमा बिक्री गरेका थिए। सेयर बिक्री गर्दा २५ करोड रुपैयाँको चेक दिए पनि त्यो बनावटी मात्र भएको स्वयं थापाकै बयानबाट पुष्टि हुन्छ।
थापाले आफू सामान्य कर्मचारी भएको र मासिक एक लाख तलब तथा १० प्रतिशत सेयर दिने प्रलोभनमा आफ्नो नाममा कम्पनी बिक्री गरिएको उनले बयानमा बताएकी थिइन्। ‘कम्पनीको सेयर मेरो नाममा राख्न अनुरोध गरी सो राखेबापत मलाई मासिक एक लाख खर्च दिने र १० प्रतिशत सेयर दिने भनी विश्वास दिलाएको उक्त कम्पनीको सम्पूर्ण सेयर मेरो नाममा राख्नका लागि मैले मञ्जुर गरेको हो। सेयर खरिद गर्दा भुक्तानी दिनका लागि बैंक चेक दिएको हो, रकम भुक्तानी गर्नका लागि होइन। उक्त चेक पछि मलाई सुरेन्द्रबहादुर सिंहले फिर्ता ल्याइदिएको र मैले च्याती फ्यालिदिएको हुँ,’ उनले बयानमा भनेकी छिन्।
अवैध सम्पत्ति शुद्धीकरण गर्नकै लागि उनले यसरी कर्मचारीका नाममा २५ करोडको कम्पनी राखेका हुन्। बैंकबाट २५ करोड चेकबाट लेनदेनको कुनै कारोबार नभएको भनेर पुष्टि गर्नुले पनि फर्जी कारोबार र सम्पत्ति शुद्धीकरण गरेको प्रस्ट देखिने अवस्था छ। तर, यस्तो फर्जी कारोबारलाई समेत मान्यता दिएर अदालतले सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि असन्तुष्टि जनाएको छ। सो क्यासिनोमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिको समेत लगानीको आशंका गरी विभागले अनुसन्धान गरेको थियो।
क्यासिनो सञ्चालक सिंह विगतमा विभिन्न अपराधमा पक्राउ परी दोषीसमेत ठहर भएका व्यक्ति हुन्। सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका थिए।
यस्तै सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका सुरेन्द्रबहादुर सिंहका क्यासिनोले सरकारलाई एक अर्ब ३३ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ। याक एन्ड यतीको रोयल क्यासिनोको ७३ करोड ९५ लाख तथा हेप्पी आवरको ५९ करोड २९ लाख रुपैयाँ छ। हेप्पी आवरमार्फत सिंहले काँकडभिट्टाको होटेल ढाका, महेन्द्रनगरको होटेल डायमन्ड प्यालेस, भैरहवामा होटेल लाकौल तथा नेपालगन्जमा होटेल ड्रिमल्यान्डमा क्यासिनो चलाएका थिए। रोयल क्यासिनो हाल बन्द भइसकेको छ। रोयल्टी नतिर्दा पनि उनले अदालतबाट स्टे अर्डरका आधारमा मिनी क्यासिनोहरू चलाइरहेका छन्।