धनगढी : बाजुराको बडिमालिका नगरपालिकाअन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदीमै थन्किएको छ ।
पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको हो । जडाङ्गको बूढीगंगा नदीमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा–आटिचौर–मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ ।
जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखे पनि अन्यत्र लैजाने अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको हो ।
सडक विभागसँग कता सार्ने भन्ने ठोस योजना नहुँदा बेलिब्रिज नदीमै थन्किएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । अन्यत्र सारेको भए त्यहाँका बासिन्दा लाभान्वित हुने थिए भन्दै उनले आफ्नो ठाउँबाट यसका लागि पहल भइरहेको बताए ।