काठमाडौं : कास्कीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षका एक बालकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरिएको हो।
पक्राउ परेका अधिकारी कास्की जिल्लाको रुपा गाउँपालिका वडा ६ स्थित खोलाको छेउमा बसोबास गर्दै आएका छन्। बालकको होमवर्क नगरेको र अक्षर नराम्रो भएको कारण देखाउँदै उनको संवेदनशील भागमा लठ्ठीले प्रहार गरी घाईते बनाएको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको हो।
बालकका अभिभावकले जाहेरी दिएपछि जिल्ला कास्कीको प्रहरी टोलीले २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो।
अधिकारलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ। यस कानूनी व्यवस्थाले दोषी पाइएमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान रहेको छ।