धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-७ सुनकुडामा रहेको पुष्पान्जली सहकारीका अध्यक्ष रघुनाथ जोशीलाई बचतकर्ताहरुले दिनदिनै कुट्ने गरेका छन्। बचतकर्ताहरुले आफ्नो रकम हिनामिना गरेको भन्दै अध्यक्षमाथि दिनदिनै गालीगलौच र हातपात गर्ने गरेका हुन् ।
रघुनाथ माओवादी केन्द्र बझाङका स्थानीय नेता हुन्। उनले माओवादी कार्यकर्ताहरू जम्मा गरेर बनाएको पुष्पान्जली सहकारीमा झण्डै २२ लाख बढी हिनामिना गरेका छन्।
रघुनाथले सहकारी हिनामिना गरेपछि, जिल्ला मालपोत कार्यालयले उक्त संस्थाका १७ जना पदाधिकारीहरूको घरजग्गा रोक्का गरेको छ। सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग २०७५ चैत २८ गते ५० लाख कर्जाको सम्झौता भएको थियो।
उक्त कर्जा लिनका लागि सञ्चालक समितिका पदाधिकारीहरूले घर जग्गा धितो राखेका थिए। सम्झौतापछि कोषले २५ लाख सहकारीलाई निकासा दियो । उक्त रकम लक्षित वर्गमा लगानी गर्ने र समयमै कोषमा बुझाउनु पर्ने सम्झौता थियो। तर, २५ लाख हातमा आएपछि रघुनाथले उक्त रकम कोषमा नबुझाई झ्वाम पारे।
रघुनाथले उक्त रकम पचाउन नक्कली ऋणी खडा गरिएको समेत बुझीएको छ । उनले नक्कली ऋणी खडा गरेर सहकारीको सबै रकम आफैले पचाएको देखीएको छ ।
स्वरोजगार कोषलाई बुझाउनुपर्ने १६ लाख ३७ हजार ४९० रुपैयाँ नबुझाएपछि समितिका पदाधिकारीहरूको घर जग्गा रोक्का गर्न मिति २०८० असोज १४ गते मालपोत कार्यालय बझाङलाई कोषले पत्र पठाएको थियो ।
सोही पत्रको आधारमा २०८० मंसिर २७ गते मालपोत कार्यालय बझाङले समितिका पदाधिकारीहरूको घर जग्गा रोक्का गरिएको भन्दै कोषलाई जानकारी गराएको थियो ।
त्यसपछि पनि पटकपटक रघुनाथलाई कोषले रकम भुक्तानि गर्न ताकेता गर्यो तर उनले टेर पुच्छर लाएनन् । अहिले सोही प्रकरणमा दिनदिनै कुटाई खानु परेको छ ।
अध्यक्ष रघुनाथले डुबाएपछि अन्य १६ जना पदाधिकारीहरु पुर्खौली सम्पत्ती समेत गुम्ने चिन्तामा छन् । पदाधिकारीहरुका बाउबाजेको नाममा रहेको पुर्खौली सम्पत्ती मालपोत कार्यालयले रोक्का गरेपछि अहिले दिनहुँ आन्दोलन गरिरहेका छन् ।
त्यसबाहेक उक्त सहकारीमा बचतकर्ताको बचत समेत हिनामिना भएको छ । सुनकुडा क्याम्पसका प्राध्यापक इन्द्र बिष्टले आफ्नो मात्रै ७८ हजारबढी बचत डुबेको बताए । उनले आफु जस्तै एक सय ५० बढी बचतकर्ताहरुको रकम रघुनाथले हिनामिना गरेको बताए ।
यस बाहेक रघुनाथले बित्थडचिरकै जनहित सहकारीको पनि १७ लाखबढी रकम हिनामिना गरेको बुझीएको छ ।
घर जग्गा रोक्का भएका पदाधिकारीहरू
१. रघुनाथ जोशी
२. लक्ष्मी देवी मल्ल/जगतबहादुर मल्ल
३. कल्पना कुमारी धामी/जयबहादुर बिष्ट
४. रमेशबहादुर बोहरा
५. टेकबहादुर बोहरा/गंग्वा बोहरा
६. देवकी कुमारी जोशी/भवानी दत्त जोशी
७. देवबहादुर धामी
८. धनमती देवी बिष्ट/उमेशबहादुर बिष्ट
९.जगदिश खड्का
१०. देवसिंह बोहरा
११. जनके कामी/लुलो कामी
१२. गणेशबहादुर बोहरा
१३. धाना देवी ढाँट/धौले ढाँट
१४. नरबहादुर ढाँट
१५. निर्मला कुँवर
१६. धनबहादुर बोहरा
१७. मनिषा क्षेत्री/करनबहादुर बोहरा