काठमाडौं : सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा पुगेको छ ।
ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवाहद हटाई उमेरहद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान छ ।
केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नै पदावधि एक वर्ष घटाउने प्रस्तावसहितको ऐनको मस्यौदा अघि बढाएका हुन् ।
विधेयकमा एआइजीको चार, डिआइजीको पाँच, एसएसपीको ६ तथा एसपीको आठ जोड दुई वर्ष पदावधि राखिएको छ । ३० वर्षे सेवाहदको प्रावधान हटाएर अवकाशको उमेरहद भने बढाइएको छ ।
राजपत्रांकित अधिकृतको ६० वर्ष, राजपत्र अनंकित अधिकृतहरूको ५५, बिल्लादार तथा जवानको ५१ र परिचरको ५५ वर्ष राखिएको छ ।
संगठनमा लामो समयदेखि उठ्दै आएको निवृत्तिभरणको न्यूनतम नोकरी अवधि संशोधन गरिएको छ । राजपत्रांकित कर्मचारीलाई २० वर्ष, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकलाई १८ वर्ष तथा अन्य कर्मचारीलाई १६ वर्षमा निवृत्तिभरण हुने व्यवस्था राखिएको छ ।
हाल सबैको न्यूनतम जागिर अवधि २० वर्ष छ । संगठनको तल्लो तहमा निवृत्तिभरणको उमेर १६ मा घटाउन माग हुँदै आएको छ । सोहीअनुसार सशस्त्र प्रहरीले प्रस्ताव अघि बढाएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले पनि निवृत्तिभरणको उमेर १६ वर्षमै घटाइने बताउँदै आएका छन् ।
त्यसका लागि उनले बिहीबार मात्र मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वमा एक अध्ययन समिति बनाएका छन् ।
विधेयकको मस्यौदामा रहेको प्रावधान स्वीकृत भएमा निवृत्तिभरणमा उपचार खर्चलगायत सुविधा पनि अब सशस्त्र प्रहरीको बढ्ने भएको छ ।
हाल सशस्त्र प्रहरीका कर्मचारीले निवृत्तिभरण हुँदा नेपाल प्रहरी र नेपाली सेनाको तुलनामा न्यून सुविधा पाउने गरेका छन् ।
१५ देखि २० वर्ष सेवामा रही सेवाबाट अलग भएका कर्मचारीले उपचार खर्चमा १० प्रतिशत थप पाउने प्रस्ताव सशस्त्र प्रहरीले गरेको छ ।
साथै, पदावधिको कारण निवृत्तिभरणका लागि नोकरी अवधि नपुगेमा बाँकी रहेको उमेर अवधिलाई समेत गणना गरेर निवृत्तिभरण दिने प्रावधान राखिएको छ ।
सशस्त्र प्रहरीमा महानिरीक्षक बढुवामा पनि अब बढुवा समितिको अवधारणा राखिएको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरिएको हो ।
प्रस्तावित ऐन संशोधनमा बढुवासम्बन्धी प्रावधान पनि हेरफेर गर्न लागिएको छ । बढुवा समितिले दिने अधिकारलाई कटौती गरिएको छ ।
यस्तै सशस्त्र प्रहरीले प्रशासनतर्फ सहायक निरीक्षक (असइ)मा भर्ना नलिने नीति लिएको छ ।भर्नाको उमेर अवधि पनि हेरफेर गरिएको छ । साधारण समूहतर्फ इन्स्पेक्टरमा २१ देखि २७, जवानमा १८ देखि २२, परिचरमा १८ देखि २५ वर्ष उमेर राखिएको छ ।
सशस्त्र प्रहरी बलमा खेलाडी तथा अदम्य साहसका साथ काम गर्ने प्रहरी अब एसपीसम्म विशेष बढुवा हुन पाउने भएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई संगठनले एसपीसम्मको पदमा बढुवा गर्न सक्ने मस्यौदामा छ ।