काठमाडौं: नेपाल प्रहरीका एक एसपीले पदको दुरुपयोग गरेको आरोप लागेको छ। धनुषास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले पदको दुरुपयोग गरेको आरोप लागेको हो।
कार्कीले मिथिला नगरपालिका-१० लालगढमा आफ्नो घर बनाउने क्रममा गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको हो।
एसपी कार्कीले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको बताइएको छ। उनले दैनिक ६ देखि ८ जनालाई आफ्नो घर बनाउने काममा लगाउने गरेको स्रोत बताउँछ।
प्रहरी जवानहरू मुकेश यादव, अर्जुन गरूधामी, कपिलदेव यादव, प्रहरी कार्यालय सहयोगी रामदयाल राम र एसपी कार्कीको सुरक्षा गार्डसमेत रहेका प्रहरी सहायक हवलदार वेदबहादुर राई घर निर्माणमा खटिने गरेको बुझिएको छ।
यस्तै, एसपी कार्कीले वन कर्मचारीलाई थर्काएर प्रहरी गाडीमा काठको गोलियाहरु समेत लगेको बताइन्छ।
तर, उता मधेस प्रदेश प्रहरी कार्यालयले भने व्यक्तिगत काममा प्रहरी र सरकारी सवारी साधान प्रयोग गर्न नमिल्ने जनाएको छ।