काठमाडौं: नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीलाई भैंसेपाटी पठाइएको छ। शाहीलाई प्रहरी प्रधान कार्यालयले भैंसेपाटीको इन्चार्जको रुपमा पठाएको हो।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले मेट्रोको मागअनुसार शाहीलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको जानकारी दिए। सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई काजमा खटाइएको हो।
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर आजबाट उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको बताइएको छ।
र, यो पनिः कञ्चनपुरकी ‘विवादित’ बिनुकुमारीसहित सुदूरपश्चिमका ५१ इन्सपेक्टर यताउता
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
आइपीएसको ट्रेनिङमा जान नपाएको भन्दै इन्सपेक्टर बिनुले झोक्किएर विरोध गर्दा…