धनगढी : कञ्चनपुरकी विवादित प्रहरी हुन्, इन्सपेक्टर बिनु शाही।
बेला बेलामा विवादमा आइरहने कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु अहिले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि दिएको चरम यातनाका कारण विवादमा छिन्।
इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके। तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन्।
हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ। इन्सपेक्टर बिनु यसअघि पनि विभागीय कारबाहीमा परेकी थिइन्। उनलाई यस अगाडि पत्रकार कुटपिटको घटनामा नसिहत दिइएको थियो।
गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
कुवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो।
घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो।