काठमाडौं: कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनु शाहीका कारण एक प्रहरी जवान मर्नु न बाँच्नुको हालतमा पुगेका छन्। बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथ (नवीन) यस्तो हालतमा पुगेका हुन्।
इन्सपेक्टर शाहीले आफ्नो सामाजिक र पेसागत जीवनसहित इज्जत धुलोमाटो पार्ने गरि पीडा दिएको नाथले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। इन्सपेक्टर शाहीको पीडाले आफूले जागिरबाटै हात धोएको पनि नाथले बताए। शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक हुन्।
तिनै इन्सपेक्टर शाहीले आफूलाई यातना दिने गरेको नाथ बताउँछन्। उनकै कारण आफूले जागिर छोड्नसमेत बाध्य भएको बताए। ‘बिनाकारण मलाई यातना दिएको छ। जागिर छोड्न दबाब आइरहेको थियो,’ उनले भने, ‘जागिर नछाडे अभद्र व्यवहार वा जबर्जस्ती करणीको मुद्दा चलाउँछु भनेर दबाब दिएकी छन्।’
बिनुको यातना सहन नसकेर आफूले राजीनामा समेत दिएको उनको भनाइ छ। बाजुरामा कार्यरत रहेका उनी बिदामा महेन्द्रनगर आएको बेला यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिएको नाथको भनाइ छ।
उता, बाजुराका डीएसपी कबिन्द्र बोहराले राजीनामा आएको र स्वीकृतीका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम पठाइएको बताए।
इन्सपेक्टरको जवानमाथि यस्तो ज्यादती
राजीनामा दिएका जवान नाथका अनुसार उनी गड्डाचाैकीमा कार्यरत थिए। त्यहीँ बेला कञ्चनपुर प्रहरीको सुरक्षा कमाण्ड चेन्ज भएसँगै सीमाको प्रहरी पनि हेरफर गर्ने कुरा भयो।
सोही समयमा प्रहरी जवान नाथलाई गड्डाचाैकीबाट जिप्रकामा तानियो। त्यतिखेर आफूलाई गड्डाचाैकीमा राख्न भनेर प्रहरीलाई दबाब दिएको आरोप लागेको उनी बताउँछन्। तर, आफूले कोही कसैलाई केही नभनेको र बिना कारण गलत आरोप लगाइएको उनको दाबी छ।
त्यसपछि केही समय उनी जिप्रकामा बसे। त्यसपछि उनको बाजुरा सरुवा भयो। हाल बाजुरामा कार्यरत उनी केही समयअघि बिदामा कञ्चनपुर महेन्द्रनगर आएका थिए।
पारिवारिक समस्याको कारण कञ्चनपुर प्रहरीबाट उनले बिदा थपे। सँगैका साथीहरूले कति दिनको बिदा थप भयो बुझ्न जाउँ जिप्रकातिर भनेर उनलाई जिप्रका कञ्चनपुर लगे।
जिप्रका कञ्चनपुर परिसरमा पुग्ने बितिक्कै उनी र उनका साथी र दुई जना अन्यलाई प्रहरीले नियन्त्रणमा लियो। मुद्दा शाखामा उनीहरूमाथि चेकजाँच भयो।
मोबाइल समेत थुतियो। गुट्खा खाने बानी परेका उनीसँग खल्तीमा गुट्खा थियो। र, प्रहरीले उनलाई कैदीलाई गुट्खा दिन आएको भन्दै थुन्यो।
२४ घण्टा थुनेर पठाइदेलान् भन्ने सोचमा थिए, उनी। तर, अरू तीन जनालाई छोड्दा उनीमाथि यातना सुरु भयो।
एसपी साप आएपछि छोड्दिन्छु भन्ने इन्सपेक्टर शाहीको आश्वासन पाएका उनलाई छोडिएन्। बरु दुई नम्बर सेलबाट तीन नम्बरमा सारियो। त्यसपछि अर्को दिन राति साढे ८ बजेतिर उनलाई भोलिपल्ट बिहान १० बजे पुग्ने गरि तारिखमा छोडियो।
थुनामा पनि इन्सपेक्टर शाहीले प्रहरीबाट चरम यातना दिलाएको नाथको आरोप छ। त्यसपछि भोलिपल्ट पनि नाथ जिप्रका पुग्दा उनको स्वास्थ्य परिक्षण समेत गरियो।
जिप्रकाभित्र उनीमाथि अत्याचार भयो। इन्सपेक्टर शाहीकै कारण आफ्नो कानको जाली समेत फुटेको उनले सुनाए।
शाहीले भित्रका थुनुवालाई समेत चरम यातना दिएको नाथ बताउँछन्। उनी भन्छन्, ‘भित्र थुनुवालाई यति कुटेको छ कि, मेरो पनि कान फुटेको छ। गल्फ एक सातासम्म सुन्निएको थियोे।’
उनलाई थुनेको कुरा माथिल्लो प्रहरीसम्म पुग्यो। तर, त्यतिबेलासम्म शाहीले कुरा लगाइसकेकि थिइन्।‘मैले केही भनेकै थिएन। केही सीप नचलेपछि इन्सपेक्टर सापले उल्टै एसपी सरलाई यो शाहीको एसपी सरसँग अवाञ्छित सम्बन्ध छ भनेर भन्यो भन्ने आरोप लगाउनु भएछ। त्यहाँ पनि उहाँले मेरोविरुद्ध कुरा लगाएर एसपी सरले पनि नभएको कुरा गर्छस् भनेर रिसाउनु भयो,’ उनले भने।
त्यसपछि आफू आजित भएको राजीनामा दिई घर बसेको नाथको जिकिर छ। तत्कालीन समयमा बाजुरामा कार्यरत हुँदा समेत शाहीले आफ्नो बारेमा नानाथरी कुरा लगाउँदा बाजुरामा समेत दुख पाएका उनी बताउँछन्।
आफूमाथि भएको ज्यादतीबिरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको उनले सुनाए।
उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश डाँगीले प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकारी नभएको बताए।
डीएसपी डाँगीले ती प्रहरी उजुरी ल्याएर प्रहरीकोमा आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने बताए।
इन्सपेक्टर शाही केही समय अगाडि पनि विवादमा आएकी थिइन्। त्यसबेला पनि उनलाई कसैले केही नगरी घटना सामसुम भएको थियो।
र, यो पनि :
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनाको गोलगोल जवाफ [भिडिओसहित]
यस अगाडि उक्त समाचार सामग्रीमा प्रयोग गरिएको शव्दको भाषाशैली संशोधन गरिएको छ। -सम्पादक