धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले केही दिन यता कञ्चनपुर जिल्लामा प्रहरीको गतिविधि लगायतको अनुगमन थालेका छन्। एसएसपी बिष्टले अस्ति २१ गतेका दिनदेखि अनुगमन एवं निरीक्षण थालेका हुन्।
बिष्टले अस्ति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आन्तरिक तथा बाह्य निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई शान्ती सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, लागू औषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदि जन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रण लगायतका बिषयहरुमा निर्देशन दिएका थिए।
यस्तै उनले सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्न सुझाएका थिए। त्यसपछि बिष्टले आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बेल्डाँडीको निरीक्षण गरेका थिए। सो क्रममा उनले अपराध अनुसन्धानमा केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।
त्यस्तै बिष्टले आजै ईलाका प्रहरी कार्यालय बेलौरी र त्रिभुनबस्तीको पनि निरीक्षण गर्दै प्रहरीलाई दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिविधि, अवैध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिएका थिए।