धनगढी : कञ्चनपुरमा कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक पुष्कर राज पन्तको नेतृत्वमा समिति गठन गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीको निर्देशनमा हवल्दार रामसिंह धामीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरिएको हो ।
प्रहरी चौकी परासन, कञ्चनपुरमा दरबन्दी भई कारागार सुरक्षा गार्डमा कार्यरत धामीले जेठ २४ गते साँझ कैदी भुवन थापालाई भेटघाट गराउन पन्त रेष्टुरेन्टमा लगेका थिए। चेकजाँच गर्दा कैदी थापा र उनको आफन्त भनिएका अमर थापा मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिए।
महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा स्वास्थ्य परीक्षण गराउँदा उनीहरुले रक्सी सेवन गरेको प्रमाणित भएको थियो।
कमाण्डरको जिम्मेवारीमा खटिएको हवल्दार धामीले कैदीलाई रक्सी सेवन गराएको भन्दै प्रथम दृष्टिमै गम्भिर लापरवाही गरेको ठहर गरिएको छ। यसै कारण हवल्दारलाई छानबिन कार्य पुरा नहुञ्जेल सम्मका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्रले निलम्बन गरिएको छ।
पन्तको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले घटनाको विस्तृत जाँचबुझ गर्नेछ।
र यो पनि !
कञ्चनपुरमा कैदी र पुलिसको मस्ती, खुलेआम होटेलमा मदिराको चुस्की
कञ्चनपुर घटना : कैदीसँग होटलमा मदिरा मस्तीमा भेटिएका हवल्दार निलम्बन