काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एक डीआईजीले मदिरा सेवन गरी आफैंले रमाइलो गरेको भिडिओ सार्वजनिक गरेको विषय खुलेको छ। केही दिनदेखि अगाडि डीआईजी दुर्गाप्रसाद भट्टराईको भिडिओ प्रकरणले चर्चा पाएको हो।
उनी सुर्खेतबाट कर्णाली प्रदेश हेर्ने डीआइजी हुन्। उनको क्वार्टरमै ‘मदिरा पार्टी’ र नाचगानसहितको भिडिओ सार्वजनिक भएपछि चर्चा चुलिएको हो।
भिडिओमा भट्टराईले मदिरा अगाडि राखेर मादल ठोक्दै मस्तसँग नचाएको देखिन्छ।
सो भिडिओले संगठनभित्र र बाहिर तहल्का मच्चाएको बताइन्छ। उनी आफैंले केही दिनअघि फेसबुकमा ‘मदिरा पार्टी’को भिडिओ सार्वजनिक गरेका थिए। भिडियोमा उनीसहित केही व्यक्ति ग्लास अगाडि राखेर नाचेका छन् भने कोही ताली पिटिरहेका देखिएका थिए।
हेडक्वार्टर स्रोतले भने उनले आफ्ना आफन्तलाई बोलाएर पार्टी गरेको जनाएको छ। सो विषयमा अन्य कुनै जानकारी नरहेको हेडक्वार्टरको दाबी छ।
तर, विवाद र आलोचना भएपछि भने डीआईजी भट्टराईले भिडिओ भने हटाएका थिए।