धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब नाघेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि बेरुजु रकम दुई अर्ब ३९ करोड १९ लाख ६० हजार रहेकोमा गत वर्षको जोड्दा दुई अर्ब ६८ करोड नाघेको हो ।
प्रदेश मन्त्रालय तथा निकायको दुई अर्ब १३ करोड ८० लाख ७५ हजार र समिति र अन्य संस्थाको ५४ करोड ४८ लाख ५४ हजार बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।
कुन निकायको कति बेरुजु ?
गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार बेरुजु रकम आएकोमा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको पाइएको छ ।
पूर्वाधार विकास मन्त्रालयको बेरुजु रकम १९ करोड ११ लाख बढि रहेको देखिन्छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयको ९ करोड ९१ लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चार करोड ३९ लाख, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दुई करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक करोड २७ लाख ३२ हजार, प्रदेश सभा सचिवालयको १६ लाख ७२ हजार, आन्तरिक मामिला मन्त्रालयको ११ लाख ४३ हजार, आर्थिक मामिला मन्त्रालयको ३ लाख ६९ हजार रुपैयाँ बेरुजु रहेको छ ।